उपप्रधानमन्त्री पोखरेलसँग अमेरिकी राजदूत बेरीको भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग आइतबार नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍यान्डी बेरीले शिष्टाचार भेट गरेका छन् । 

भेटका अवसरमा कोभिड–१९ संक्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि भएका प्रयासका साथै द्विपक्षीय हित र सरोकारका विभिन्‍न विषयमा छलफल भएको बताइएको छ । 

उपप्रधानमन्त्री पोखरेलले महामारीका रूपमा फैलिइरहेको कोभिड–१९ सङ्क्रामक रोगलाई नियन्त्रण गर्न नेपाल सरकारका तर्फबाट भइरहेका कार्यबारे प्रकाश पार्दै कोभिड–१९ सङ्क्रमणविरुद्ध लड्न संयुक्त राज्य अमेरिकालगायत मित्रराष्ट्रबाट प्राप्त सहयोगका लागि आभार व्यक्त गरेका थिए । 

उनले संक्रमणको नियन्त्रणसँगै आर्थिक तथा सामाजिक गतिविधिलाई क्रमशः सञ्चालन गर्दै जानुपर्ने चुनौतीकाबीच नेपाल सरकारले उच्च सतर्कता अपनाएर कार्य गरिरहेको बताएका थिए । 

राजदूतले बेरीले नेपालले कोभिड–१९ रोगको नियन्त्रणका लागि गरेका प्रयासको सराहना गर्दै संक्रमण नियन्त्रणबाहिर जान नदिन सामाजिक दूरी कायम गर्ने लगायतका उपायलाई प्राथमिकताका साथ अवलम्बन गर्न उपयोगी हुने कुरा बताएका थिए । 

कोभिड–१९ सङ्क्रमणको नियन्त्रणका लागि दुवै मुलुकले मिलेर कार्य गर्न आवश्यक रहेको बताउँदै कठिन परिस्थितिका बाबजुद नेपाललाई सहयोग गर्न अमेरिका सदैव तत्पर रहेको कुरा बताए । 

राजदूत बेरीले संयुक्त राज्य अमेरिकाले नेपाललाई विगत ७० वर्षदेखि आर्थिक सामाजिक हित हुने गरी विभिन्न क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आएको र यस्तो सहयोगलाई आगामी दिनमा पनि निरन्तर जारी राखिने विचार व्यक्त गरे । 

प्रकाशित मिति: : 2020-07-26 18:45:24

प्रतिकृया दिनुहोस्