‘नेफिन जापान’को महाधिवेशनमा गुरुङ समाजलाई रोक्ने प्रयास

Break n Links
Break n Links

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन जापान)को १९ औं महाधिवेशनमा निर्वाचन समितिले गुरुङ समाज जापानलाई भाग लिनबाट बञ्चित गराउने प्रयास गरेको छ।

समाजले महाधिवेशनमा अध्यक्ष, सचिव र सह कोषाध्यक्ष पदमा उम्मेद्वारी दिएको थियो। निर्वाचन समितिको सम्पूर्ण प्रावधान पूरा गरी तोकिएको दस्तुरसमेत तिरेर उम्मेद्वारी दिएकोमा समितिले समाजको आधिकारिकतामा प्रश्न उठाउँदै उम्मेद्वारी अस्वीकार गरेको समाजले विज्ञप्ति जारी गर्दै बताएको छ।

निर्वाचन समितिले गुरुङ समाज जापान, नेपाल आदिवासी जनजाती महासंघ जापानमा आवद्ध नरहेको हुँदा उम्मेदवारी दर्ता गर्न असमर्थ भएको लिखित पत्र पठाएको समाजले जनाएको छ।

समाजद्वारा जारी विज्ञप्तिमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को आधिकारिक र एक मात्र जापान शाखा गुरुङ समाज जापान रहेको दाबी गरिएको छ।

नेपाल आदिवासी जनजाति महासंघको प्रवास सगठनको नियमावली २०७९ को दफा ४ को उपदफा (क)मा ‘विदेशस्थित महासंघहरूको हकमा नेपालमा आदिवासी जनजाति महासंघ आवद्ध अनुसुची ७ मा उल्लेखित जातिय सगंठनहरू मातृसंस्था मानी सोही मातृसंस्थाले आधिकारिकता प्रदान गरेको जातिय सदस्य संगठनलाई विदेशस्थित आदिवासी जनजाति महासंघमा आवद्धताको लागि योग्य मानिनेछ’ भन्ने व्यवस्था छ।

सोही व्यवस्था अनुसार तमू ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद, नेपालको आधिकारिक जापान शाखा गुरुङ समाज जापान भएकोले नेफिन जापानको नियमित र स्वतः आबद्द संस्था हुने समाजले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘गुरुङ समाज जापानको उम्मेदवारी अस्वीकार गर्नु नेपाल आदिवासी जनजाति महासंघको विधान २०४७ र उक्त विधान अन्तर्गत बनेको नियमावली विपरित रहेको कुरा हाम्रो ठहर छ। तमू ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदको आधिकारीक जापान शाखाको रुपमा गुरुङ समाज जापान हो भन्ने कुराको प्रमाण र कागजपत्रहरू समेत नेफिन जापान सचिवालय र अध्यक्ष समेतलाइ आधिकारिक रुपमा पटक-पटक जानकारी गराई सकेका छौं।’

यस विषयमा नेपाल आदिवासी जानजाति महासंघ केन्द्रबाट ‘गुरुङ समाज जापान नै आधिकारिक संस्था हो’ भनेर २ पटक नेफिन जापानलाई जानकारी गराइसकेको अवस्था छ।

तर, महासंघ केन्द्रको निर्देशनको समेत अबहेलना गरी गुरुङ समाज जापानको उम्मेदवारी अस्वीकार गर्नु दुखद् र आफ्नो मातृ संस्था नेपाल आदिवासी जनजाति महासंघ केन्द्रलाई अपमान गर्नु रहेको जापान समाजले आरोप लगाएको छ।

समाजले नेफिन जापानको महाधिवेशनमा निर्वाचन समितिले आफ्नो उम्मेद्वारी अस्वीकार गर्नुले गम्भीर प्रश्न खडा गरेको आरोप लगाएको छ।

समाजले भनेको छ, ‘नेपाल आदिवासी जनजाति महासंघ जापानमा आदिवासी जनजाति आन्दोलन विरोधीहरूको कब्जा त भएको छैन? नेफिन जापानलाई गलत मनसाय र उद्धेश्यमा प्रयोग त गरिएको छैन?’ 

समाजले १९औं महाधिवेशनको सम्पूर्ण क्रियाकलापहरू रोकेर गुरुङ समाज जापानलाई उम्मेदवारी दर्ता गर्न वञ्चित गराइएको बारे विशेष छलफल गराउन अनुरोध गरेको छ।

प्रकाशित मिति: : 2025-05-20 20:32:00

प्रतिकृया दिनुहोस्