के बजाउँदैछन् कलेजका रेडियो?

नुनुता राई

काठमाडौं

रत्नराज्यलक्ष्मी, मदन भण्डारी मेमोरियल र कलेज फर जर्नालिजम एण्ड मास कम्युनिकेसन (सीजेएमसी) ले आफ्नै एफएम रेडियो संचालन गरेका छन्। तर, बन्दाबन्दीमा मदन भण्डारी मेमोरियल कलेजको रेडियो मात्र विद्यार्थीका लागि उपयोग भयो।

मदन भण्डारी मेमोरियल कलेजले इन्टरनेटमा पहुुँच नभएका विद्यार्थीका लागि आफ्नै एफएम रेडियोबाट कक्षा सञ्चालन गर्‍यो। विभिन्न तहका पाठ्यक्रममा आधारित पाठ्य सामाग्री आलोपालो प्रणालीमा एफएम मार्फत प्रसारण गरिरहेको क्याम्पस प्रमुख डम्बर हमाल बताउँछन्।

उनी भन्छन्, “रेडियोबाट प्रसारित सामाग्री अनलाइनमा जस्तो प्रभावकारी नभए पनि विद्यार्थी पाठ्य सामाग्रीबाट बन्चित हुनु परेन।” भौगोलिक विकटताको कारण केही विद्यार्थीले भने एफएम स्पष्ट नसुनिएको गुनासो गरेका छन्।

उक्त कलेजले २०६६ सालदेखि ‘रेडियो श्वेत शार्दुल’ सञ्चालन गरिरहेको छ। ९३.६ मेगाहर्ज ब्याण्डविथमा बज्ने यो रेडियो ५०० वाट क्षमताको छ। पत्रकारिता तथा आमसंचारमा रेडियो विषय लिएर पढ्ने विद्यार्थीको प्रयोगात्मक अभ्यासका लागि यसको स्थापना गरिएको हो।

विभिन्न विषय लिएर पढिरहेका विद्यार्थीको पाठ्यक्रममा आधारित कार्यक्रम प्रशारण गर्दै आइरहेको क्याम्पस प्रमुख डम्बर हमालले बताए। तर, मानविकी, व्यवस्थापन, विज्ञान, आईटी पढ्ने विद्यार्थीका पाठ्यक्रममा आधारित कार्यक्रम पनि बज्ने गरेकाले सबै विद्यार्थीलाई उपयोगी भएको हमाल बताउँछन्।

रेडियोबाट पाठ्य सामाग्री प्रशारण गर्दा अन्य कलेजका विद्यार्थीलाई पनि फाइदा भएको उनको भनाइ छ। उनी भन्छन्, “रेडियोबाट अन्तरक्रिया नहुने हुँदा अनलाइनमा जस्तो प्रभावकारी हुँदैन। तर, अनलाइनमा पहुँच नभएका सबै विद्यार्थीलाई उपयोगी भएको पाएका छौँ।”

प्रकाशित मिति: : 2020-07-27 08:41:28

प्रतिकृया दिनुहोस्