एक्लै हिड्ने डा. केसी र मेरो १० मिनेट

झट्ट हेर्दा, सानो कद। गहुँगोरो वर्ण। चाउरी परेका गाला। साथै फुलेका रौं झरेको तालु। साधारण लत्ताकपडामा उभिएको मानिस।

उनी थिए, डा. गोविन्द केसी। नाम सुन्ने बित्तिकै सबैको मनमा एउटै चित्र बन्छ, एक सन्त व्यक्ति। निस्वार्थी डाक्टर। ‘सेवा नै धर्म हो’ भन्ने श्लोकको पर्याय। मेरो मनमा पनि त्यस्तै चित्र बनेको डा. केसी एक्कासी देखिए, मेरो सामू। उनीसँगको मेरो पहिलो भेट यसरी सुरू हुन्छ।

घरबाट बजार बैंकमा पैसा जम्मा गर्न हिँडेको म नेपाल टेलिकम र जिल्ला प्रहरी कार्यालयको मध्य बिन्दु नजिकै एउटा दिवाल तिर डा. गोविन्द केसी उभिएको देखे। एक छिन हुन या होइनन् पत्याउन गाह्रो भयो। अनि एकनासले हेरिरहेँ, हेरिरहेँ। जब उनै हुन् नै भन्ने पक्का भयो अनि नजिकै गएर सम्बोधन गर्ने इच्छा जाग्यो।

उनी जुम्ला आउँदै छन् भन्ने खबर त सुनेको थिए तर यसरी बाटैमा भेट होला भन्ने अनुमान थिएन। करीव १५ मिटरको दूरीमा थियौं, हामी। तर सिधै उतै तिर पाइला चाल्न घभराहट (डर) भएझैं भयो, मनमा।

डा. केसी जुम्ला आएको खबर दिन पत्रकार महेश नेपालीलाई फोन गर्दा उनैले आफूलाई पहिलेनै जानकारी भएको भन्दै २ बजे उद्योग वाणिज्य संघको हलमा पत्रकार सम्मेलन छ। तिमी पनि त्यतै आउनू भनेर सुझाए।

यति भनेसी मैले डाक्टर सा’ब तिर पाइला अगाडि बढाएँ। नमस्कार डाक्टरसा’प भन्दै उनी छेउमा पुगेँ। उनी फोनमा व्यस्त थिएँ। तै पनि म तिर हेर्दै सम्बोधन फिर्ता गर्दै,‘नमस्कार बाबू’ भने।

मैले नजिकबाट नियाल्दै गर्दा देखेँ डा. केसीले लगाएको मास्कको एकापट्टिको डोरी चुडिएको रहेछ। अनि मैले अरू केही नसोची सिधै ‘डाक्टर सा’ब मास्क फेर्ने कि?’ भनेँ। उनको जवाफ आयो, ‘पर्दैन बाबू।’

त्यो चुडिएको मास्कको डोरी त्यही च्यातिएको मास्क छेउ बाँधेर लगाए। फोनतिरै लागे।

त्यतिबेला उनका निम्ति मेरो मनमा सम्मान र प्रेरणाको भाव एकै साथ आयो। त्यसैले त सादगी जीवनको अर्को नाम नै डा. केसी रह्यो होला। अनि मैले सम्झिएँ, ‘सायद भगवान बुद्धका शिष्यले बुद्धका निम्ति केही गरौं, भनेर भन्दा उनी यसरी नै आफ्नो बुद्धत्त्व देखाउँथे होला।’

यत्रो जीवन पुरै जनताको सेवामा समर्पित डा. केसी अझै पनि जनताकै सेवामा लागि विभिन्न ग्रामिण ठाउँ घुम्दै जुम्ला आएका छन्। अनि मैले अर्को प्रश्न गरेँ, ‘डाक्टर साब, जुम्ला बसाइ कहिलेसम्म?’ उनले म तिर हेर्दै भनेँ, ‘यसबारे पछि २ बजे पत्रकार सम्मेलन छ, उतै आउनूहोला,’ यति भनेर अगाडि बढे।

सायद, मेरो भौतिक आचरणले (लामो कपाल, त्यसमाथि चुल्ठो बाटेको। कहिलेकाहीँ यस्तो मुन्द्रा पनि लगाइहाल्ने) गर्दा या डाक्टर सा’बको आफ्नै कार्य-व्यस्तताका कारण मेरो र उनको लामो संवाद हुन पाएन। अनि मैले पत्रकार सम्मेलनमा सहभागी हुनेछु भन्दै उनीसँग विदा मागेर आफ्नो कामतिर लागेँ।

साँच्चै बुद्धत्व, बुद्ध नेपालमा जन्मेका हुन् भन्दै नारा लगाउनुमा रहेनछ। बुद्ध नेपालमा जन्मेको प्रमाण त डा. केसीको जीवनबाटै देख्न सकिनेरहेछ। अब हामीले बुद्ध नेपाल मै जन्मेका हुन् भनिराख्नु पर्ने रहेनछ। त्यो त उनको नेपालीप्रति समर्पित जीवनबाटै बुझ्न सकिन्छ। दिउँसो उनको पत्रकार सम्मेलनमा पनि सहभागी भएँ। अनि सरकार समक्ष उनका असन्तुष्टि सुनेँ। आउने दिनका काम क्रियाकलाप बारे जानकारी लिए।

उनी नेपालीका लागि एक सपूत हुन। उनका हरेक कुरा नेपालीका निम्ति छन्। सरोकारवाला निकायले बेलैमा यस बारे मनन गरे स्वस्थ्य क्षेत्रमा उनले गरेको समर्पण र त्यागको मूल्यांकन हुनेछ।

दुर दराजका गाउँमा गरिबहरुका घरमै औषधि लगेर घाउमा मलम लगाउने डा. केसी साँच्चै सेवाका प्रतीक हुन्।

मैले उनीसँगको एक छिन र दिनको भेटमा धेरै कुराकानी गर्न नपाए पनि प्रेरणा भने अथाह पाएँ। त्यसैले डा. केसीप्रति मेरो उच्च सम्मान छ र रहिरहने छ।

प्रकाशित मिति: : 2020-07-27 12:53:00

प्रतिकृया दिनुहोस्