एमबाप्पेले च्याम्पियन्स लिगको खेल गुमाउने

एजेन्सी

काठमाडाैं

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी ) का फरवार्ड केलियन एमबाप्पेले च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको खेल गुमाउने भएका छन्।

दायाँ गोडाको गोलीगाँठोमा लागेको चोटका कारण तीन हप्ता मैदान बाहिर हुने भएपछि उनले क्वाटरफाइनलको खेल गुमाउने भएका हुन्।

पीएसजीले आगामी अगष्ट १२ मा क्वाटरफाइनल अन्तर्गत इटालियन क्लब एटलान्टाकाे सामना गर्दै छ।

२१ वर्षीय एमबाप्पेले फ्रेन्च कप अन्तर्गत शुक्रबार राति भएको फाइनल खेल दौरान चोट बोकेका थिए। उनलाई सेन्ट इटिनेका डिफेन्डर लोइक पेरिनले खराब ट्याकल गरेका थिए।

विपक्षी टिमको डिफेन्डरको खराब ट्याकलको कारण उनले पहिलो हाफमै मैदान छाडेका थिए। चोट लागेपछि रुँदै मैदानबाट बाहिरिएका उनको डाक्टरहरुले निगरानी गरिरहेका छन्।

 ‘स्क्यानहरुबाट यो थाहा भएको छ कि उनको गोलीगाँठोको बाहिरी लिगामेन्ट च्यातिएको छ’,  पिएसजीले वक्तव्य जारी गरेर भनेको छ, ‘एमबाप्पे तीन हप्ता साइडलाइन हुने देखिएको छ।’

तर, पीएसजी सेमिफाइनलमा पुगे उनी अगष्ट १८ मा उक्त खेलबाट भने मैदान फर्कन सक्ने बताइएको छ।

पोर्चुगलको लिस्बनमा हुने च्याम्पियन्स लिगको फाइनल भने अगष्ट २३ मा हुनेछ।

प्रकाशित मिति: : 2020-07-28 06:36:02

प्रतिकृया दिनुहोस्