एसिड आक्रमणबाट घाइते युवतीलाई भेटे गृहसचिव न्यौपाने र आईजीपी थापाले

गृहसचिव महेश्वर न्यौपाने र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले अस्पतालमा उपचाररत एसिड प्रहारबाट घाइते भएकी युवतीलाई भेटेका छन्। 

गृहसचिव र आईजीपीसँगै महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्‍वराज पोखरेलले पनि कीर्तिपुरस्थित मोडल अस्पतालमा पुगेर उपचाररत पवित्रा कार्कीकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। 

अस्पतालमा उपचाररत कार्कीले एसिड आक्रमणका कारण मुखमा घाउ भएकाले बोल्न नसकेपछि आफ्नो पीडा र आफूमाथि भएको अपराधबारे कागजमा लेखेर जानकारी दिएकी थिइन्। 

भेटका क्रममा गृहसचिव न्यौपाने र प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उपचारको चिन्ता नलिन युवतीलाई आग्रह गरेका छन्।  

उनीहरुले उपचारमा कुनै कमी हुन नदिन पनि अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्।

उपचारका संलग्न चिकित्सकले गृहसचिव न्यौपाने र प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई कडा एसिड नभएका कारण त्यसको असर केही कम भएको बताएका थिए।

यसअघि आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले एसिड पीडित कार्कीलाई अस्पतालमा भेटेर उपचारमा सरकारले सहयोग गर्ने आश्वासन दिएका थिए।

असार ८ गते राति बालफलमा सामान किन्न निस्केकी ओखलढुंगाकी २२ वर्षीय युवतीलाई रौतहट लक्ष्मीपुर र भई सितापाइलामा कपडा कारखाना सञ्चालक ४७ वर्षीय मोहम्मद आलमको योजनामा उनकै कारखानाका कामदार भारतीय नागरिक २३ वर्षीय मुन्ना अहमदले ती युवतीलाई एसिड प्रहार गरी फरार भएका थिए। 

घटनापछि अनुसन्धानमा जुटेका महानगरीय प्रहरी परिसर काठमामडौं र महानगरीय अपराध महाशाखाको टोलीले ३ घन्टापछि सितापाइलाबाटै दुवैजना अभियुक्तलाई पक्राउ गरेको थियो। एसीड आक्रमणबाट युवतीको निधार, गाला र टाउकोका केही भाग जलेको छ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार एसिड आक्रमण गर्नेलाई ज्यान मार्ने उद्योग र एसिडको अनधिकृत प्रयोग गरी शरीर कुरुप बनाएको कसुरमा १८ वर्षसम्म कैद सजाय हुन सक्छ। यी दुबै कसुरमा संलग्न भएको अभियोगमा आलम र मुन्नामाथि महानगरीय प्रहरी वृत्त स्वयम्भूले अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2020-07-28 21:53:47

प्रतिकृया दिनुहोस्