नेपालमा परिरहेको लगातारको वर्षाले बिहार डुबानमा

नेपालमा केही दिनयता परिरहेको वर्षाका कारण भारतको बिहार राज्य प्रभावित भएको छ। नेपालका नदीनालामा पानीको मात्रा बढेपछि बिहारको १२ जिल्लाका २९ लाख ६२ हजार ६ सय ५३ स्थानीय वासिन्दा प्रभावित भएको स्थानीय प्रशासनले बताएको छ।

नेपालको बुढीगण्डकीसँग जोडिएको भारतको समस्तीपुर खतराको निसानामा छ। बुढी गण्डकीमा पानीको बहाव अढाई मिटरभन्दा माथि पुगेको छ।

यस्तै, कोशी नदीमा पानीको बहाव २ दशमलव १० मिटर माथि पुग्दा खगडियामा ठूलो समस्या देखिएको छ। यो अझैं बढ्ने सम्भावना प्रबल छ।

बागमतीको पानी पनि २ मिटर माथिबाट बगिरहेको छ, जसका कारण सीतामढी र दरभंगाका मानिस त्रसित भएका छन्।

अहिले गण्डक नदीबाट २ लाख ३३ हजार क्युसेक पानी छोडिएको छ। जसका कारण सारण जिल्लाको तरैया र पानापुर क्षेत्रमा पानीले डुबान गरेको छ। दुबै क्षेत्र सम्पर्कबिहिन बन्न पुगेका छन्। बाटोमा तीन फिटसम्म पानी जमेको छ। गोपालगञ्जको सारण बाँध टुटेका कारण पानापुर र तरैयामा पानीको बहाव उच्च बन्न पुगेको छ।

मंगलबारसम्म यहाँको पानी ३२ गाउँमा प्रवेश गरेको भारतीय मिडियाले बताएका छन्। गाउँका मानिसहरूले घरको छत माथि बसेर आफ्नो ज्यान जोगाएका छन्।

प्रकाशित मिति: : 2020-07-29 12:32:00

प्रतिकृया दिनुहोस्