पारपाचुके गरे पनि अझै सुमधुर छ, क्लार्क र केलीको सम्बन्ध

एजेन्सी

न्यु साउथ वेल्स

अस्ट्रेलियाका पूर्व क्रिकेट कप्तान माइकल क्लार्कले श्रीमति केली बोल्डीसँग वैवाहिक सम्बन्ध बिग्रिनुको कारण सार्वजनिक गरेका छन्।

३९ वर्षीय क्लार्क भर्खरै सार्वजनिक रूपमा फेशन डिजाइनर पेप इडवार्ड्ससँग देखिएका थिए। उनीहरूको नयाँ सम्बन्धको विषयमा कुराहरू बाहिरिरहेको अवस्थामा क्लार्कले पूर्व पत्नीसँग पनि आफ्नो राम्रो सम्बन्ध भएको बताएका छन्।

क्लार्क र केलीले गत फेब्रुअरीमा सात वर्ष लामो आफ्नो वैवाहिक सम्बन्ध समाप्त भएको घोषणा गरेका थिए। उनीहरूबाट एउटा छोरी केस्ले ली रहेकी छिन्। क्लार्कले पूर्व पत्नीसँगको राम्रो सम्बन्धकै कारण आफूलाई बुवाको जिम्मेवारी बहन गर्न सहज भएको बताएका छन्।

क्लार्क र केलीबीच पारपाचुके हुँदा ४० मिलियन डलर बाँडफाँड भएको थियो। ‘म यस मानेमा भाग्यमानी छु। बच्चाका कारण हाम्रो भेटघाट भइरहन्छ र हामी अझै राम्रो साथी हौं,’ क्लार्कले भने।

उनले छोरीको भविष्यको विषयलाई लिएर दुबैबीच दैनिकी जसो कुराकानी भइरहने बताए। क्लार्क र केलीबीच सम्बन्ध बिग्रिएको सात महिनापछि मात्र उनीहरूको सम्बन्ध विच्छेदको खबर बाहिर आएको थियो।

‘सम्बन्ध तोड्न कति गाह्रो हुन्छ त्यो मलाई थाहा छ। तर, म आभारी छु, हाम्रो सम्बन्ध समाप्त हुनुअघि मिडियामा यो खबर आएन,’ क्लार्कले भने।

क्लार्कले अस्ट्रेलियाका लागि १ सय १५ टेस्ट र २ सय ४५ एकदिवसीय खेलेर १७ हजारभन्दा बढी रन बनाएका थिए। उनको नेतृत्वमा अस्ट्रेलियाले विश्व कप क्रिकेटको उपाधि जितेको थियो।

प्रकाशित मिति: : 2020-07-31 14:49:14

प्रतिकृया दिनुहोस्