समुदायमा कोरोना फैलिएपछि विराटनगरमा शनिबारदेखि दुई साता लकडाउन

विराटनगर महानगरपालिकाले थप दुई साता लकडाउन गर्ने निर्णय गरेको छ। समूदायमा कोरोना फैलिएको भन्दै महानगरले शनिबारदेखि दुई साताका लागि लकडाउन गर्ने निर्णय गरेको हो।

महानगरपालिकाका मेयर भीम पराजुलीले समुदायमै कोरोना भाइरसको संक्रमित देखिएपछि लकडाउन घोषणा गरिएको जानकारी दिए।

उनले संक्रमितको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको र ट्राभल हिस्ट्री नभएकामा पनि संक्रमण देखिएपछि महानगरपालिकाभित्र लकडाउन गर्ने निर्णयमा पुगेको बताए।

ट्राभल हिस्ट्री नभएका ६० भन्दा बढीमा संक्रमण देखिएपछि कोरोना समुदायमा फैलिएको निष्कर्ष निकाल्दै दुई साता लकडाउन गर्ने निर्णय गरेका मेयर पराजुलीले बताए।

उनले अहिलेलाई दुई हप्ताका लागि लकडाउनको घोषणा गरेको भए पनि आवश्यकताअनुसार थप गर्न सकिने बताए।

विराटनगरमा शुक्रबारमात्रै थप १० जनामा कोरोना पुष्टि भएको छ। योसँगै विराटनगर महानगरपालिकाभित्र मात्रै संक्रमितको संख्या १०९ पुगेको छ।

प्रकाशित मिति: : 2020-07-31 16:26:50

प्रतिकृया दिनुहोस्