रुपन्देहीमा विप्लव समूहको बैठकस्थलबाट हातहतियारसहित १० नेता कार्यकर्ता पक्राउ

रुपन्देही प्रहरीले विप्लव समूहको बैठकस्थलबाट हातहतियारसहित १० जना नेता कार्यकर्तालाई पक्राउ गरेकाे छ।

शुक्रबार दिउसो बुटवल १७ रानीगञ्जस्थित गमबहादुर थारुको एकतले टिनले छाएको घरमा विप्लव समूहको बैठक बस्दै गरेको सूचनाका आधारमा जिल्ला इन्चार्ज संगम भनिने ४७ वर्षीय टेकबहादुर पुनमगरसहित १० जना पक्राउ परेका थिए।

पक्राउ पर्नेहरुमा सचिवालय सदस्य ४५ वर्षीय विष्णु भट्टराई (विश्वास), जिल्ला सेक्रेटरी तथा पूर्व जनसरकार प्रमुख ४८ वर्षीय नवीन चौधरी, अनेरास्ववियु क्रान्तिकारीका जिल्ला सदस्य २१ वर्षीय पारस राहाडी मगर छन्।

यस्तै जिल्ला सदस्यहरु माधव न्यौपाने, सरिता बराह, तुल्सीराम भण्डारी, अजअहमद मिया, बल बहादुर दर्जी र रोशन रिजाल पनि पक्राउ परेका छन्। 

उनीहरुकाे साथबाट जापानमा बनेको लेखिएको एक थान रिभल्वर, ६ थान गोली र डेढ लाख बढी नगद बरामद गरेको जनाएको छ।

यस्तै बिभिन्न कम्पनीका मोबाइल सेट ६ थान र पार्टीका बिभिन्न दस्तावेजहरु बरामद भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतित सिंह राठौरले जानकारी दिए।

पक्राउ परेकाहरुलाई अदालतबाट म्याद थप गरेर थप अनुसन्धान गरिने राठौरले बताए।

प्रकाशित मिति: : 2020-08-01 10:24:48

प्रतिकृया दिनुहोस्