नेपालकै लामो झोलुंगेपुल सर्वसाधारणका लागि खुला

विश्वकै लामो पुल भनेर दाबी गरिएको बाग्लुङ–पाङ जोड्ने झोलुंगेपुल शुक्ररबारबाट सर्वसाधारणका लागि खुला भएको छ । बाग्लुङको बाँगेचौरदेखि पर्वतको पाङ अदुवाबारी जोड्ने नेपालकै लामो झोलुंगेपुल गत चैत महिनामा नै निर्माण पूरा भएको थियो । यो पुल सिंगल स्पानको संसारकै लामो पुल भएको दाबी गरिएको छ ।

पाँच सय ६७ मिटर लामो र एक सय ३८ मिटर अग्लो उक्त पुल निर्माण सम्पन्न भए पनि कोरोना महामारीका कारण हस्तान्तरण हुन सकेको थिएन । पुल हस्तान्तरण नभए पनि सर्वसाधारणका लागि शुक्रबारबाट खुला गरिएको बाग्लुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए । ०७५ को चैतमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले शिलान्यास गरेको उक्त पुल एक वर्षको अवधिमै निर्माण सम्पन्न भएको हाे । 

दुई दिन पहिले विभागबाट इन्जिनियर आएर हेरेपछि सबै ठीक रहेको भनेपछि सर्वसाधारणका लागि खुला गरिएको नगरप्रमुख पौडेलले बताए । ‘विभागबाट आएर हेर्ने काम सकिएको छ, अब सर्वसाधारणका लागि खुला भयो,’ पौडेलले भने, ‘हस्तान्तरणको कुरा पछि नगरपालिका र  कम्पनीको सहमतिको आधारमा हुन्छ ।’

पौडेलका अनुसार अहिले नै कार्यक्रम गरेर उद्घाटन गर्ने अवस्था नरहेको हुँदा कोरोनाको त्रास अन्त्य भएपछि पुल औपचारिक रूपमा उद्घाटन गरिनेछ 

हालसम्म चार सय ९७ मिटर लामो पुल स्विट्जरल्यान्डमा भएको भेटिएको र यो पुल पाँच सय ६७ मिटर लामाे भएकाले  विश्वकै अग्लोको रूपमा दाबी गरिएकाे छ । अन्यत्र योभन्दा लामो पुल भेटिएन भने गिनिज बुक वर्ल्ड रेकर्डमा दर्ता गराउन पहल गरिने नगरप्रमुख पौडेलले बताए । 

ल निर्माणको जिम्मा थानी/बिएलटी/हिमशिखर जेभीले लिएको थियो । ‘हामीले पुल समयमा नै निर्माण गरिसक्यौँ,’ कम्पनीका प्रतिनिधि नरहरि खड्काले भने, ‘समयमा सम्पन्न भएपछि हस्तान्तरणको प्रक्रिया पछि हुँदै गर्छ भनेर सर्वसाधारणका लागि खुला गरेका छौँ ।’  

पुलले एकपटकमा ६ सय १२ जना (८५ मेट्रिक टन) धान्न सक्ने क्षमता छ । नेपालमा बनेका झोलुंगेपुलहरूभन्दा लामो भएका कारण यही पुल निर्माणका लागि चिनियाँ प्रविधिको लठ्ठा तान्ने मेसिन ल्याइएको थियो ।

बाग्लुङ बजारबाट पाङ पुग्न पैदल डेढ घन्टा लाग्ने भए पनि पुल निर्माण भएपछि पन्ध्र मिनेटमा नै पुग्न सकिने भएको छ । पुलले पर्वत र बाग्लुङको पर्यटन, व्यापार, कृषि, शिक्षालगायत स्थानीयका जीवनस्तर उकास्न टेवा पुग्ने विश्वास गरिएको छ । करिब डेढ दशकअघिदेखि निर्माणका लागि चर्चामा रहँदै आएको पुलले अहिले मूर्तरूप लिएकाे छ । 

प्रकाशित मिति: : 2020-08-02 00:04:32

प्रतिकृया दिनुहोस्