दाङमा करेन्ट लागेर दाजुभाइको मृत्यु

दाङमा करेन्ट लागेर दाजुभाइको सोमबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका– १ हर्नोक निवासी १४ वर्षीय वीरबहादुर रावत र उनको १० वर्षीय भाइ तेजबहादुरको मृत्यु भएको हो ।

मकैबारीमा जंगली बँदेल मार्नका लागि थापिएको विद्युतीय धरापमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

थापिएको विद्युतको धरापमा बँदेल परेको छ कि भनेर बिहान बारीमा गएका भाइलाई करेन्ट लागेपछि छुटाउन जाँदा दुवैलाई करेन्ट लागेको प्रहरीले बताएको छ ।

छोरालाई करेन्ट लागेको देखेपछि बारीमा गएका उनका ३७ वर्षीय बुबा दिलबहादुरलाई पनि करेन्ट लाग्दा घाइते भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: : 2020-08-03 16:01:31

प्रतिकृया दिनुहोस्