बालिका बलात्कार गरेको आरोपमा गोरखाका वडा अध्यक्ष पक्राउ, पार्टीको जिम्मेवारीबाट निलम्बन

बालिका बलात्कार गरेको आरोपमा गोरखाको पालुङटार नगरपालिका ४ का वडा अध्यक्ष ठाकुरकान्त रानाभाट पक्राउ परेका छन्। १४ वर्षीय बालिकालाई बिहे गर्ने प्रलोभन देखाई बालात्कार गरेको आरोप लगाउँदै पीडित बालिकाको बाबुले जिल्ला प्रहरी कार्यालयमा  जाहेरी दिएका छन्।

अन्दाजी ४७ वर्षीय वडाअध्यक्ष रानाभाटलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी सुरेन्द्र गुरुङले जानकारी दिए।

पक्राउ परेका वडाध्यक्ष रानाभाटाई हिरासतमा लिएर अनुसन्धान गरिरहेका भन्दै उनले अदालतबाट म्याद लिएर जवरजस्ती करणी मुद्दामा कारवाही अगाडि बढाउने जानकारी दिए।

यसैबिच जनता समाजवादी पार्टी पालुङटार नगर कमिटि गोरखाले पार्टीका तर्फबाट निर्वाचित वडा नं ४ का अध्यक्ष रानाभाटलाई निलम्बन गरेको छ। सोमबार एक प्रेस वक्तव्य जारी गर्दै पार्टीले निलम्बन गरिएको जानकारी गराएको हो। 

पालुङटार-४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाट अनुसन्धानको क्रममा हिरासतमा रहेको भन्दै उनलाई निलम्बन गरिएको हो। अनुसन्धान प्रक्रियालाई सहज बनाउन वडाध्यक्ष रानाभाटलाई तत्कालका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको पालुङटार नगर कमिटी गोरखाका कार्यवाहक अध्यक्ष देविमाया गिरीद्वारा हस्ताक्षरित वक्तव्यमा उल्लेख छ।

तत्कालीन नया शक्ति पार्टीका तर्फबाट रानाभाट वडाध्यक्षमा निर्वाचित भएका थिए। 

प्रकाशित मिति: : 2020-08-03 22:38:59

प्रतिकृया दिनुहोस्