भदौदेखि लमजुङको घलेगाउँमा पर्यटक आगमन खुला

पहिलो चरणमा जिल्लाभित्रका पर्यटकलाई मात्रै प्रवेश खुला

कोरोना महामारीका कारण बन्द रहेको लमजुङको घलेगाउँ होमस्टे भदौ १ गतेदेखि सञ्चालनमा आउने भएको छ। घलेगाउँ होमस्टे व्यवस्थापन समितिका अनुसार घलेगाउँमा भदौ १ देखि आन्तरिक पर्यटक आगमन खुला गरिने भएको छ।

'स्मार्ट भिलेज' घलेगाउँमा भदौ १ बाट पर्यटक आगमन खुला गरिएसँगै अब पर्यटकले यहाँ घुमफिर गर्न पाउने भएका छन्।  बन्दाबन्दीसँगै घरबास व्यवसाय सङ्कटमा परेकाले भदौ १ गतेबाट पर्यटकलाई प्रवेश गर्न दिइने र पर्यटन  व्यवसायलाई खुला गरिने घलेगाउँ पर्यटन व्यवस्थापन समिति घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले जानकारी दिए। 

'चार महिनासम्म सुस्ताएको पर्यटन व्यवसायलाई अघि बढाउन पर्यटकलाई प्रवेश खुला गरिने भएको छ' अध्यक्ष घलेले भने, 'घलेगाउँमा पहिलो चरणमा जिल्लाभित्रका पर्यटकलाई मात्रै प्रवेश खुला गरिएको र त्यसपछि कोरोना भाइरस संक्रमणको अवस्था हेरी अन्य जिल्लाका आन्तरिक पर्यटकलाई पनि प्रवेश दिइने छ।'

घलेगाउँ पर्यटन व्यवस्थापन समितिका सचिव उमलबहादुर विकले सुरक्षा सतर्कता अपनाएर मात्र पर्यटकलाई प्रवेश गराइने बताए । उनले भने, 'घलेगाउँ पुग्ने पर्यटकले अनिवार्य मास्क लगाउनुपर्ने र स्थानीयले पनि अनिवार्य मास्क लगाउनुपर्ने नियम बनाईएको छ ।'

१२ घरबाट सुरु गरिएको होमस्टे हाल ३४ घरमा सञ्चालन गरिएको छ ।  घलेगाउँमा २०५७  सालबाट होमस्टे सञ्चालनमा ल्याइएको हो ।

प्रकाशित मिति: : 2020-08-04 10:23:06

प्रतिकृया दिनुहोस्