तिन् रूखका आँम उसैलाई साँच्याछु

सेती किनारको एक कुना। आँगनको डिलबाट नजिकै देखिन्छन् सेतीका छालहरु। त्यही सेती किनारमा अवस्थित छन् शक्तिशाली ठानिएका देउताका मन्दिरहरु। सेती किनारमा अवस्थित भागेश्वरको मन्दिर। अलि पर सडकको माथि अवस्थित सालमुनि। भागेश्वर दूधधारी, सालमुनी मांशहारी। ती दुबै शक्तिपिठलाई आस्थाका धरोहर ठान्छन उनी। उसो त उनी कुनै कर्मकाण्डीय पुरोहितलेझै न पाठपूजा गर्छन् न उपासना नै। केवल मनभित्र सजाएर राख्छन् पुर्खाले मान्दै गरेका ती शक्तिपिठहरुलाई। उनी अर्थात पर्यटनविद् अमर बहादुर शाही।

लकडाउनका कारण पाइला काठमाडौंमै थन्किए पनि मन भने सेती किनारबाट झण्डै ६०० मिटर माथि अवस्थित बगैंचाभित्रै डुलिरहेको हुन्छ। जहाँ असी वसन्त पार गरिसकेका बृद्ध बाआमा छन्। अनि सुस्ताइरहेको छ वाल्यकालमा लडिबुडी खेलेको उही आँगन। दस पन्ध्र वर्ष भयो उनले आँप, लिची, अम्बा, कागति, कफी आदिका बोटहरु लगेर रोप्न थालेको। शाहीले आफू मात्रै रोपेनन् हरेक वर्ष गाउँलेलाई पनि दिइरहे फलफूलका केही बिरुवाहरु। अहिले सबै छिमेकीका घरमा दुई चार रुख आँपका देखिएकै छन्।  टाढाबाट जंगल जस्तो देखिन्छ त्यो एकान्तको वस्ती। रिसोर्ट बनाउन भनेर सम्याइएको गरा उस्तै उतानो परेर हेरिरहेकै छ।

डोटीको तिजाली गाउँ पुगेको हप्तादिनपछि मैले झर्नुपर्ने थियो दिपायल। साथमा थिए डोटीका पत्रकार खगेन्द्र सिंह। यो कुराको सुइको पाए पछि फर्किदा घरमा गई आँम नखाई नफर्किनू भन्ने प्रेमपूर्ण खबर आइपुग्छ उनको। दिपायलबाट साथमा ल्याउनुपर्ने अर्का मनकारी मनुवा थिए कान्तिपुर दैनिकका संवाददाता मोहन शाही। मोहन शाहीसँग सम्पर्क गर्दा थाहा भयो उनी कैलाली पुगेको कुरा। झिमझिम पानी परिरहेको थियो। खगेन्द्रको मोटर साइकलको पछाडी बर्सादी ओढेर बसिरहेको थिएँ म। याद आइरहेको थियो विगतमा त्यसरी नै प्लास्टिक ओढेर गाईबाख्रा चराउन गएको।

रप्तारमा दौडिरहेको थियो बाइक। हावाले उडाइरहेको थियो प्लास्टिक। कालागाढमा रतन धामीको होटलमा चिया पिउने निहुँमा ओत लाग्यौं। रतनले पाकेका आँप प्लेटमा दिँदै भने –‘चिया पाकुन्जेल आँप खानू सर। अमर राजाले दिएका बोट रोपेको हुँ अहिले राम्रै फल्न थालेका छन्।’ रतन धामीलेझै कयौंले सम्झिन्छन् बेलाबखत अमर शाहीलाई। बिस्तारै थाहा भयो रतन धामी कहाँ एक केजीको पुको जातको माछा छ भन्ने। त्यति थाहा पाएपछि किनेरै छोडे खगेन्द्रले। त्यही माछा खान सिलगढी आफ्नो होटल ज्ञानुसम्म पुर्‍याए मलाई पनि। अन्तत्वगत्वा माछा चाख्न पाइएन। पुनः भिज्दाभिज्दै फर्किनुपर्‍यो दुबैले दिपायल।

दिपायलमा भेटिए के. आई. सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाही, नेपाली काँग्रेस डोटीका जिल्ला सचिव नारायण जोशी र दिपायल सिलगढी नगरपालिकाका पूर्व उपमेयर प्रेम शाह, युवा नेता जीत खड्कालगायत केही पत्रकार भाइहरु। दिपायल पुगेपछि एकछिनलाई मात्र भए पनि उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नरेन्द्र खड्कालाई नभेटी फर्किन मन मान्दैन। डेउडा गीत र डोटेली संस्कृतिप्रति निकै लगाव देखिन्छ उनको। खड्का आफैमा ड्यौडिया पनि हुन्। अर्का भेट्नु पर्ने मध्येका थिए होटल तथा पर्यटन महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष दीपक खड्का। तर, हिजो आज उनी झिग्रानामा रिसोर्ट निर्माणमा तल्लिन छन्। फेसबुकमा बेलामौकामा खप्तडका मनै लोभ्याउने तस्विर अपलोड गरिरहेका हुन्छन्।

होटल तथा पर्यटन महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष दीपक खड्का


दिपायलको बसाई र भोलिपल्ट रानागाउँसम्मको यात्रा, रानागाउँमा पुराना दिनमा ठूल्ठुला खेलमा सवाल जवाफ गरेकी केही ड्यौडिया महिलाहरुसँगको कुराकानीको कथा छुट्टै छ जुन आउने नै छ दोस्रो लेखमा

यतिखेर सेती किनारको यात्रामा रमाउँदै भिजेको क्षण, अमर शाहीको बगैंचा र सुदूरपश्चिमप्रतिको उनको लगाव आइदिन्छ सम्झनामा। सुदूरको नाम बेचेर खाए कैयौंले। सुदूरलाई डलर भजाएझैं गरेर भजाए कैयौ महारथीहरुले। तर उनले सधैं दिइ नै रहे। सुदूर मात्र हैन मध्यपश्चिम पनि उत्तिकै प्रिय छ उनका लागि। उनले बारम्बार भन्ने गरेका छन् – ‘मध्य तथा सुदूरपश्चिमलाई राज्यले के दियो भन्ने कुरा आफ्नो ठाउँमा छ हामी मध्य तथा सुदूरपश्चिमबासीले केके गर्‍यौ केके दियौं त्यो ठाउँको लागि यो सोचनीय विषय हो।

बडिमालिका


शायद त्यस्तै सोचले होला आफ्नै खर्चमा साहित्यका माध्यबाट पर्यटकीय क्षेत्रको विकासमा केही योगदान पुर्‍याउन सकिन्छ कि भन्ने सोचका साथ केही स्रष्टाहरुलाई २०५८ सालमा हेलिकप्टर चाटर्ड गरी रारा पुर्‍याए। राराको प्रमोशनका लागि सुरुमा लागिपरेका उनै थिए। खप्तड, अपी, शाही शुक्लाफाँटा, बर्दिया आरक्षण केन्द्रलगायत धेरै ठाउँमा दर्जनौ साहित्यिक, सांस्कृतिक र प्रकृतिप्रेमी मनहरुलाई भ्रमण गर्न निम्तो दिए।

सुदूरपश्चिमको बिभिन्न ठाउँमा एक लाख बिरुवा रोपे। मध्य तथा सुदूरपश्चिमको कला, संस्कृति र पर्यटन प्रवर्धनका निम्ति काठमाडौंमा तीनदिने मध्य तथा सुदूरपश्चिम महोत्सवको आयोजना गरे। पछिल्लो पटक डडेलधुरमा पीसीआर मेसिन जडान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे। जीवनको पहिलो कमाई उदारतापूर्वक विद्यालयको भवन निर्माणमा लगानी गरे। जति गरे आफ्नै ब्यक्तिगत खर्चमा गरे। आजका दिनसम्म न राज्यबाट केही लिए न कुनै दातासँग नै हात थापे। उनी एक अनुभवी र कुशल पर्यटनकर्मी हुन्। जन्मभूमिप्रति अगाध प्रेम बोकेका, अरुको भलो चिताउने सामाजिक मन भएका मनुवा हुन्। उनका आफ्नै ब्यवसाय छन्। काठमाडौंमा रहेको रैका टुर्स एण्ड ट्राभल्स उनकै हो। तर यतिखेर भन्नै पर्दैन, चौपट छ व्यापार व्यवसाय सबै। 

उनी हाँसेर ठट्टै ठट्टामा उडाइदिन्छन् कतिपय पलहरु। स्नातकमा नेपाल कमर्स क्याम्पस टप गरेका उनलाई कसैले त्यो कुरा सोद्धा सजिलैसँग भनिदिन्छन्, ‘खै म त्यस्तो ट्यालेन्ट विद्यार्थी पनि हैन। पढाइमा खासै मिहनेत गरेको पनि थिइनँ कुन भगवानले बनायो थाहा छैन।’ आत्मश्लाघामा रमाइरहेको जमातका लागि अहिलेको परिवेशमा उनी एक अपवाद हुन्। ठट्यौलो स्वभावका धनी शाही भन्छन्, ‘कामको लोड हुँदा तनाव हुन्छ त्यसबाट क्षणभरको लागि भए पनि छुट्करा दिलाउँछ ठट्टाले।’

यतिखेर सम्झिन्छु त्यही डोटीमा जन्मेर बाल्यकाल त्यतै बिताएका लेखक डा.डी.पी. भण्डारीलाई। डा. भण्डारीको भनाइ छ, ‘जो मान्छे ठट्टा गर्न र साथीभाइहरुसँग रमाउन सक्दैन उसले राम्ररी बाँच्ने कला पनि सिकेको हुँदैन।’ यस अर्थमा हेर्दा शाही बाँच्ने कला लिएरै आएका व्यक्ति हुन्। डा. भण्डारीकै शब्दमा भन्नुपर्दा उनी लिन जान्दैनन् दिन मात्रै जान्दछन्। हो उनले सधैंजसो कसै न कसैलाई केही न केही दिइरहे। लिएनन् कतैबाट केही। यदि केही लिए भने माटोको सुवास लिए। विगतको याद लिए। अनि लिए दुःखको गह्रौं दराज। जवान भाइ गुमाउदाको पीडा लिए। कलेज पढ्नेताकाको आर्थिक अभावका गोरेटाहरु मस्तिष्कमा सजाए। एक्लै यात्रारत रहे कर्म क्षेत्रमा। सुखदुःखको साथी थिइन श्रीमति गोदावरीदेवी सिंह शाही। माछापानीको जस्तै सुमधुर सम्बन्ध रहिरह्यो श्रीमान श्रीमतीको सधैभरी। एकातिर छोडी जानेको सम्झनाले ब्याकुल बनेका आमा बुवा थिए। अर्कोतिर कान्छा भाइ ज्ञानेन्द्र शाही सानै थिए। सबैको जिम्मेवारीको भारी बोकेर यात्रारत एक्ला बृहस्पति बने उनी।

एक पटक गफगाफको सिलसिलामा भनेका थिए,‘मसँग अरु कुराको फुर्ति गर्नू दुःखको फुर्ति कहिल्यै नगर्नू। दुःखको पहाड तपाई भन्दा बढी नै बोकें हुँला।’ म यो वाक्यले निकै दिनसम्म रन्थनिएको थिएँ। कैयौ वर्ष बितिसके उनले त्यो भनेको पनि। किन हो कुन्नि मलाई एकोहोरो छोइरह्यो त्यो भनाइले। उनीसँग भेट हुँदा त्यो वाक्य टुपलुक्क आइपुग्थ्यो दिमागमा।


उनले जति दुःख पाए पनि देखाएनन् कहिल्यै ती दुःखका फोकट्टाहरु समेत।  भनेनन् कसैलाई जिन्दगीका कथाहरु। आफैभित्र यसरी थिचेर राखे कि त्यसले बाहिर आउने बाटो नै पाउन सकेको छैन्। दुःखसँग डराएनन्, हडबडाएनन्। आफ्नो मार्गमा निरन्तर एकनासले यात्रारत रहे। आत्तिएनन् कहिल्यै पनि। पालेनन् धेरै ठूलो महत्वाकाक्षां पनि।


निजी क्षेत्रबाट पर्यटन क्षेत्रको विकासमा सहयोग पुर्‍याउने संस्थाहरुको संगठनको नाम हो एसोसिएसन अफ टुर अपरेटर। त्यही संस्थामा आवद्ध छन् शाही। मध्य तथा सुदूरपश्चिम नै हो उनको लगानी गर्ने क्षेत्र। बजारमा आएका नयाँ नयाँ डेउडा गीतहरु सुन्न छुटाउँदैनन्। ती गीतभित्र भावपक्ष केलाउँछन्। सामान्य खालका चल्तीका गीतले छुदैन उनलाई। अरुको परिश्रमको कदर गर्ने कोमल मनका धनी शाही निकै नै संबेदनशील छन। नोस्टाल्जियामा रमाउन खोज्ने शाही जुनसुकै क्षेत्रमा होस् सम्भावना बोकेकाहरु अगाडि आउन भन्ने चाहन्छन्। त्यस्ता मान्छे भेटेपछि सक्दो सहयोग गर्न पनि पछि पर्दैनन्। त्यसैले निर्धक्कसँग भन्न मन लाग्छ, ‘उपयोगी समाजका लागि एक अर्थपूर्ण नाम हो अमर शाही।’

श्रीमतीसँग शाही


मध्य तथा सुदूरपश्चिमको पर्यटन क्षेत्रमा अग्रपंक्तिमा देखापर्छन् उनी। कसैको चाकडि चाप्लुसी केही जान्दैनन्। मनैले छुट्याउछन असल र खरावहरुलाई। भन्दैनन् कसैको बारेमा केही। आफ्नो स्वभिमानमा आँच आउन नदिने एक कर्तब्यनिष्ठ, सफा दिल भएका स्वाभिमानी ब्यक्ति हुन् उनी। बिभिन्न पार्टीहरुको पृष्ठपोषणमा हुर्किरहेका विज्ञहरुको मुलुकमा कहिल्यै कुनै पार्टीको झण्डा बोकेनन् उनले।

हिजोआज श्रीमति गोदावरीदेबी सिंह शाही पनि उनकै प्रेरणाले बिभिन्न सामाजिक कार्यमा सक्रिय छिन्। पछिल्ला दिनमा सुदूरपश्चिम महिला जागरण समूहकी अध्यक्ष बनेर बिभिन्न सामाजिक गतिबिधिमा तल्लिन देखिन्छिन्। 

उनीसँग पनि अरुकोझैं पारिवारिक जिम्मेवारी छ। ब्यवसायको चकटी छ। वर्षौदेखि कमाएका साथीसंगतिहरु छन्। केके छ त्यही काठमाडौंमा। तर पनि त्यहाँ उनी विवशताको जिन्दगी बाचिरहेका छन्। मन डोटीमै छ। सम्झना डोटी मुडेगाउँकै छ। मुटुको भित्रैसम्म पुगेर बिस्तारै सिस्नुले पोलेझै करेन्ट लागेझै मन मस्तिष्कमा झनक्क पार्ने डेउडा गीतका हरफहरु यतै कतै छन्। बुढेशकाल डोटीमै बिताउने इच्छा प्रकट गर्छन् बेलाबखत उनी।

शाहीको घरबाट देखिएको सेती नदी


शायद त्यसैले होला कालागाडस्थित सडकको मस्तिर आँपदेखि अम्बा, कागती, कफी, बाँसका गरेर पाँच सय जति बोटहरु रोपी ठूलै बगैंचा तयार पारेका छन्। प्रत्येक वर्ष वर्षायाममा डोटी जादा नर्सरीबाट खरिद गरेर आफू र आफ्ना छरछिमेकीहरुलाई उपहार स्वरुप लगिदिन्छन् बिभिन्न जातका फलफूलका बोटहरु।


बगैंचाको बीचमा छ सानो चिटिक्क परेको घर। रिसोर्ट बनाउन भनेर सम्याएर छोडिएको छ घर मुनीको गरा। बाख्रा र लोकल कुखुरा पालन गर्ने र फलपूलको बगैंचाभित्रै रिसोर्ट खोली बुढेशकाल मुडेगाउँमै बिताउने सपना पालेकै छन्। जहाँबाट देखिन्छ कलकल बहिरहेकी सेती नदी, शैलेश्वरी मन्दिर भएको डोटीको सदरमुकाम सिलगढी, खप्तडको मनमोहक आकाश। जहाँबाट सुनिन्छ डाँडाकाँडामा कसैले बजाएको बाँसुरीको रन्को अनि जंगलमा सुरीलो स्वरमा गुञ्जिरहेका ठाडी भाकाहरु।


हामी उनको घरमा पुग्दा आँगनबाट छोराको बाटो हेरिरहे जस्ता तल सडकतिर एकोहोरो हेरिरहेका थिए बुवा सिताराम शाही। आमा बगैंचातिरै थिइन्। सबै जना छँदाछदै पनि कोही नभए जस्तो। सबै कुरा छदाछदै पनि केही नभए जस्तो। कहिले काही झेल्नुपर्ने हुँदोरहेछ नसोचेको समय। अनवरत रुपले दौडिरहेकी सेतीका छाल जस्तै त छन् जिन्दगीका छाल पनि। जन्मदेखि मृत्युसम्म देखापर्छन् किसिमकिसिमका छालहरु। फरक यति मात्रै हो कुनै छाल दुखाएर जान्छन्। कुनै मनमा ऊर्जा थपेर जान्छन्। कुनै सोचमग्न तुल्याएर जान्छन्। आखिर तिनै छालभित्र त भेटिन्छ जिन्दगीको लय पनि।

शाहीका बुवा आमा


प्रकृतिको काखमा चराचुरिङ्गिहरुको आवाजसँगै मिसिन्छ तल सडकमा बजिरहने गाडिको प्याँप्याँ र पुँपुँ। साँझ बिहान सुनिएकै हुन्छ सेतीको सुसाहट। दिनमा कयौंपल्ट पुगिरहन्छ दृष्टि घरमुनिको उही कालोपत्रे सडकमा। बुवा सीताराम शाहीलाई राम्ररी थाह छ यतिखेर गाडी बन्द छ। काठमाडौंबाट छोरा बुहारी नाति नातिना कोही आउनेवाला छैनन् भनेर। तर पनि मनै त हो कसो कसो प्रश्न उब्जाइदिदो रहेछ –कतै आइ पो हाल्छन् कि?

बेलाबखत लाडिदै आँगनसम्म पुगिदिन्छ बादल र बर्सिन पुग्छ क्षणभरमै। झ्यालमा बसेर कान थाप्दा सुनिन्छ पाकेका आँपका दाना खसेर भुँइमा बजारिदाको आवाज। उता सेतीमा साउने भेल उर्लिदिदा यता मनमा उर्लिदो हो सम्झनाको बाढी। एकातिर काठमाडौंमा कोरोना संक्रमण बढिरहेको समाचार सुन्दा चिन्ता बढ्न थाल्छ। अर्कोतिर अत्तालिदै पाकिरहेका आँप छोरा बुहारीलाई पठाउन नसक्दा मन खिन्न भैरहन्छ। यस्तै हाल छ उता छोराको पनि। संयोगवश यतिखेर संक्रमितहरुको संख्या बढिरहेको जिल्लामा पर्दछ डोटी पनि। रत थपिएको छ बुवाछोरा दुबैमा उस्तै चिन्ता।

बुवा सिताराम शाही



घरमा बृद्धबृद्धा हुनु भनेको घरको स्वभा बाँचिरहनु पनि हो। केही न केही मात्रामा पुरानो इतिहासका पाना पल्टाउन पाउनु पनि हो। सबैभन्दा बढी मनभरी श्रद्धा र माया छल्काउँदै आशिर्वाद माग्दै भित्रभित्रै स्नेहका आँसु छल्काउनु पनि हो। त्यो शौभाग्य सबैले पाइरहेका हुँदैनन्। त्यो शौभाग्यशाली मान्छेमा पर्छन् पर्यटनकर्मी अमर बहादुर शाही पनि।


कुराकानीका क्रममा भावुक भएर सुनाएका थिए बुवाले, ‘आधि आँम सक्कि गए। अलि ढिलासम्म पाक्दे आँम बाँकी छन्। राति बदेल आइदिन्छन् बगैचाभितर। दिनमी कैल्येकाही बान्नर आइपुग्दा। सुगाइ रे अरिङ्गालले रुखमा पाकेका दाना सकिहाले। अब औरका आँम सकिगए कहिले काही चोरी अद्देलगइ सुटुक्क छिरिदिना बगैंचाभितर। अचेल राम्ररी आँखा पनि धेक्दैन इसोइ छ, क्यारिनो।’

आमा बुवाको सुर्ता जति काठमाडैंमा लकडाउनले थुनिएका छोरा बुहारी नाती नातिनामै छ। आँगन नजिकैका ठूला दाना भएका दुई रूख देखाउँदै भनेका थिए बुवाले – ‘खै भदौमा गाडी खुल्ले भन्ना छन्। ती दुई रुखका आँम अमरलाई साँचिबर राख्या छु। पाक्दै झड्डै गरे पनि लिन जानैन, तिन रुखका आँम उसैखिलाई भनिबर साँच्याहुँ।’ बाआमाको सन्तानप्रतिको प्रेम र सडकतिरको हेराई आकाश खुलेपछिको घामझै प्रष्ट र मननयोग्य थियो।

घरभन्दा निकै तल सडकमै पुग्छ आँपको बास्ना। एकपछि अर्को दाना झरेको आवाज आइरहन्छ आँगनमा। पाक्दै खस्दै गरेका सबै आँप समेट्न सकेका छैनन् घरमा। रुख मुनि त्यतिकै कुहिएर जादैछन् कति त। स्थानीयदेखि उन्नत जातका किसिम किसिमका आँपहरु छन् बगैंचामा। बगैंचाभित्र चराचुरुङ्गी र अरिङ्गालहरु उत्तिकै मात्रामा आवाज दिइरहेका हुन्छन्। दिउँसोतिर फ्याट्टफुट्ट आइपुग्छन् एक दुई केजी आँप किन्नेहरू। रुखमै पाकेका ताजा आँप जम्मा ४० रुपैया केजी दिदा पनि किन्ने मान्छे छैनन्। लगडाउनले गर्दा लाखौका आँप त्यतिकै कुहिएर जादैछन्।

एकातिर स्थानीय सरकारले रोजगारी सिर्जना गर्नुपर्ने, विदेशबाट आएका युवाहरुलाई कृषि क्षेत्रमा लाग्न प्रेरित गर्ने खालका योजनाहरु ल्याउनु पर्ने कुरा उठिरहेको छ। अर्कोतिर अमर शाही जस्ता कतिपय किसानका आँपलाई बजारसम्म पुर्‍याउन पहल नगरिदिँदा घाटा बेहर्नु परेको छ। बोटमुनी कुहिएका आँपका दाना देखेर मन अमिलो पार्नुको बिकल्प छैन्। यतिबेला सम्झनामा आइदिन्छन् उदय बोगटीले सिर्जना गरेका डेउडा गीतका दुई पंक्ति:

अझ लै कट्कटी खाइनो मुटु घाउ छुराको
मूल्य छैन किसानको भाउ छैन कुराको


काठमाडौंले इमान्दार, स्वाभिमानी र कर्मठहरुलाई चिनेन कहिल्यै। न्याय गर्न सकेन कहिल्यै। त्यसैले त मध्य तथा सुदूरपश्चिमबासीले भन्ने गरेका थिए काठमाडौंलाई नैपाल। त्यही नैपालको मातहतमा रहेका स्थानीय सरकार छन् जिल्लामा। गर्दैनन् कसैले उत्पादित बस्तुलाई बजारसम्म पुर्‍याइदिने व्यवस्था। बरु भारतबाट निरन्तर आइरहेका छन् आँपहरु। जसको मूल्य प्रतिकेजी ९० रुपैया तिरेर खाइरहेका छन्।


अमर शाहीको तन काठमाडौंमा भए पनि पुगिहाल्छ मन डोटीतिरै। कालिदासको कृति मेघदूतमा यक्षले आफ्नी प्रियसीको चिन्ता लिएझैं लिई नै रहन्छ उनी पनि बृद्ध बाआमाको चिन्ता। यक्षले बादललाई सन्देश वाहक बनाएर खबर पठाएझैं पठाइरहेकै हुन्छन् विभिन्न माध्यमबाट घरमा खबर। भनिरहेकै हुन्छन्–‘चाडै नै फर्किदैछु घरतिर जहाँ बुढेशकालसम्मै सोचेजस्तो आनन्दको जिन्दगी बिताउने योजना छ।’ बाआमासँग हरेक दिन फोनमा सोधिरहेकै हुन्छन् सञ्चो बिसञ्चो। कसलाई के थाहा छ र आउने वाला जिन्दगीका मोडका बारेमा। तर पनि आशावादी बन्नु नै जिन्दगीसँग असली लय मिलाउनु हो। उनको भविष्यको आशा भन्नु नै मुडेगाउँमा रिसोर्ट खोलेर बाँकी जिन्दगी उतै बिताउनु हो।

समयसमयमा ओढिरहन्छ जिन्दगी प्रेम, विछोड, मिलन, विरह, वेदना, योजना र चाहनाका घुम्टीहरु। विगत सम्झाउँदै सम्झनाका पल्लाभित्रै लपेटिरहन्छन् कतिपय ऋतुहरुले त्यही जिन्दगीलाई। त्यतै कतै देखापर्छन् आषाढ श्रावणमा वनमा च्याउ उब्जिए जस्ता केही प्रश्नहरु। लमतन्न परेका जिन्दगीका गरामा पलाइरहन्छन् जिज्ञाशाका केस्राहरु, टल्किरहन्छन् आकाक्षाका च्यादरहरु, दौडिरहन्छन् कहिलेकाही सपनाहरु।

जिन्दगी आफैँमा एक यायावर बनिदिन्छ अमर शाही जस्ता कयौंका लागि। तथापि दुखेसो छैन जिन्दगी अनि जिन्दगीका गौडाहरुसँग उनको। शायद त्यही भोलिको बारेमा सोचेर, विगतमा गरेको संघर्षलाई सम्झेर जिन्दगीका कैयौ घुम्तीहरुभित्र सोचाइका परागहरु छरेर लेखे होलान् फिराक गोरखपुरीले यी हरफ:

पुछते हो गमो खुसी क्या है
खास पुछो कि जिन्दगी क्या है

 हेमन्त विवशका थप आलेख 

प्रकाशित मिति: : 2020-08-04 14:33:00

प्रतिकृया दिनुहोस्