ठूला व्यापारी र उद्योगीकै मिलेमतोमा चिनीमा कालोबजारी

काठमाडौं । चाडपर्व नजिकिँदै जाँदा चिनीमा चरम कालोबारी हुन थालेको छ । ठूला व्यापारी र चिनी उद्योगीको मिलेमतोमा कृत्रिम अभाव देखाएर चिनीमा चरम कालोबारी हुन थालेको हो । व्यापारीले पछिल्ला दिनमा चिनीको मूल्य पनि बढाएका छन् । केही दिनअघिसम्म ८० देखि ८५ रुपैयाँ प्रतिकिलोमा पाइने चिनी अहिले एक सय रुपैयाँसम्म पुगेको छ ।

नेपाल राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बजारमा पर्याप्त चिनी हुँदा हुँदै पनि ठूला व्यापारी र केही उद्योगीको मिलेमतोमा अभाव सिर्जना गर्न खोजिएको बताए । ‘अहिले जानाजान अभाव सिर्जना गर्न खोजिएको छ, ठूला चाडपर्व नजिकिरहेको अवस्थामा अभाव देखाएर कालोबजारी गर्न खोजिएको छ, सरकारले समयमै यसप्रति ध्यान दिनुपर्छ ।’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार मुलुकभर सामान्य अवस्थामा मासिक २०/२५ हजार मेट्रिक टन चिनी खपत हुन्छ । ६० प्रतिशत चिनी घरायसी परियोजन र ४० प्रतिशत मिठाई उद्योगमा खपत हुन्छ ।

मन्त्रालयको तथ्यांकअनुसार १ जेठमा ६५ हजार ४ सय ९२ मेट्रिक टन चिनी मौज्दात थियो, जसमा चिनी उद्योगसँग ६३ हजार २ सय ७ मेट्रिक टन र साल्ट टे«डिङसँग २ हजार २ सय ८५ मेट्रिक टन चिनी मौज्दात थियो ।

यस्तै, चिनी व्यापारीहरूले पनि निरन्तर आयात गर्दै आएका छन् । गत असार मसान्तदेखि १४ साउनसम्म भन्सार नाकाबाट ४८ हजार मेट्रिक टन चिनी वैध रूपमा भित्रिएको थियो । त्यस्तै, अवैध रूपमा १ लाख २ हजार मेट्रिक टन चिनी नेपाल भित्रिएको पाइएको छ । यो तथ्यांक हेर्दा अहिले बजारमा चिनीको अभाव नहुनुपर्ने हो ।

प्रकाशित मिति: : 2020-08-05 07:34:37

प्रतिकृया दिनुहोस्