ट्रम्पले लगाए टिकटक र वीच्याटमाथि प्रतिबन्ध

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा चिनियाँ एप टिकटक र वीच्याटमाथि प्रतिबन्ध लगाएका छन्।

राष्ट्रपति ट्रम्पले शुक्रबार टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स र वीच्याट चलाउने टेन्सेन्टमाथि ४५ दिनपछि लागू हुने गरी प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

झन्डै दुई वर्षदेखिको व्यापार युद्व र पछिल्लो समय हुवावेको फाइभजी माथि प्रतिबन्ध, कोरोनाभाइरस, साउथ चाइना सी र हङहङका विषय चीनसँग विवाद चुलिइरहेका बेला अमेरिकाको राष्ट्रिय सुरक्षामाथि खतरा भएको भन्दै  ट्रम्पले प्रतिबन्ध घोषणा गरेका हुन्।

अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि टिकटकविरूद्ध यो कदम उठाउन आवश्यक रहेको ट्रम्पको कार्यकारी आदेशमा भनिएको छ।

यसअघि अमेरिकाको सिनेटले सरकारी विद्युतीय उपकरण टिकटकलाई प्रतिबन्ध लगाउने प्रस्ताव सर्वसम्मतले पारित गरेको थियो।

अमेरिकी कम्पनी माइक्रोसफ्टले टिकटक अमेरिकाको स्वामित्व किन्न चाहेको छ। राष्ट्रपति ट्रम्पको आदेशपछि अब उक्त खरिद प्रक्रिया ४५ दिनअगावै सक्नुपर्ने देखिएको छ।

चिनियाँ कम्पनी बाइटडान्सले सन् २०१७ मा टिकटक लन्च गरेको थियो। 

टिकटक अमेरिका र युरोपका युवाहरूमाझ निकै लोकप्रिय छ। विश्वभर टिकटकमा ५० करोड र अमेरिकामा ८ करोड प्रयोगकर्ता छन्।

प्रकाशित मिति: : 2020-08-07 10:21:44

प्रतिकृया दिनुहोस्