अभिनेता सुशान्त सिंह आत्महत्या प्रकरण: प्रेमिकासहित ६ जना विरुद्ध मुद्दा दर्ता

एजेन्सी

मुम्बई

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा उनको प्रेमिकासहित ६ जनाविरुद्ध उजुरी दर्ता गरेको छ । भारतको केन्द्रीय अन्वेषण ब्यूरो (सिबिआई) ले सिंहकी प्रेमिका रिया चक्रवर्ती र रियाका बाबुसहित ६ जना विरूद्ध एफआईआर अर्थात ‘फष्ट इन्फर्मेशन रिपोर्ट’ दायर गरेको हो ।

एफआईआरमा सन्ध्या चक्रवर्ती, शोविक चक्रवर्ती, स्यामुयल मिरान्डा र श्रुति मोदीको पनि नाम छ । सिबिआईले यी सबैविरूद्ध भारतीय दण्ड संहिताको धोकाधडी, डराउने-धम्काउने काम र आपराधिक षडयन्त्रअन्र्तगत उजुरी दर्ता गरेको हो ।

हालै बिहार राज्यका मूख्यमन्त्री नीतिश कुमारले सुशान्त सिंहको आत्महत्या प्रकरणमा सिबिआई जाँच गर्न केन्द्र सरकारसमक्ष सिफारिस गरेका थिए ।

छोराले आत्महत्या गरेपछि सुशान्तका बाबु केके सिंहले केही दिन अगाडि पटना प्रहरीमा रियाका विरूद्ध उजुरी दिएका थिए ।

उजुरीमा सुशान्तका बाबुले रियाविरूद्ध जबरजस्ती पैसा असुली, आत्महत्या गर्न बाध्य पारेको जस्ता विभिन्न आरोपहरू लगाएका छन् ।

गत जुन १४ मा अभिनेता सुशान्त सिंह राजपुतले मुम्बईस्थित घरमा आत्महत्या गरेका थिए।

प्रकाशित मिति: : 2020-08-07 11:07:32

प्रतिकृया दिनुहोस्