मायानगरी मुम्बई वर्षादले जलमग्न 

लगातारको वर्षाका कारण भारतको मुम्बई जलमग्न भएको छ। अहिले जताततै पानी नै पानी देखिन्छ। केहि दिनदेखि मुम्बईलगायत अन्य क्षेत्रको अवस्था पनि उस्तै छ। भारी वर्षाका कारण मुम्बईको जनजीवन थप प्रभावित बनेको छ।

यहाँका प्रायः शहरहरु वार्षिक रुपमा डुवानमा पर्छन्। वर्षादको समय हुँदा मुम्बई क्षेत्रमा भारी वर्षा हुनेगर्छ। हरेक वर्ष आकाशे पानी नियन्त्रण गर्न जनशक्ति प्रयोग गरे पनि अहिलेसम्म काम प्रभावकारी देखिएको छैन।

यतिबेला रेलमार्ग, सडक, शहरका गल्लीलगायत मुम्बई चारैतिर डुबानमा परेको छ। सडकका खाडलहरु पोखरीमा परिणत भएका छन् भने रेलमार्ग नाला जस्तै देखिन्छन्। मुम्बईको जनजिवन कोरोना भारइसका कारण थलिएको छ। त्यसमाथि पछिल्लो भारी वर्षाले थप चोट दिएको छ।

नगरपालिका, महानगरपालिका तथा महाराष्ट्र राज्य सरकारले अनिवार्य काम बाहेर मानिसहरुलाई घर बाहिर नजान निर्देशन समेत दिएको छ। सरकारले यस्तो निर्देशन दिए पनि हजारौं मानिसहरु घर बाहिर आउँनुपर्ने बाध्यता नै हुन्छ। किनकि, पानीले उनीहरुका घरहरु भरिएका छन्। वर्षादसँगै यस क्षेत्रमा तिब्र समुन्द्रीक हावाहुरी समेत चल्दछ। मुम्बई, ठाणे, मीरा–भाईंदर, विरार, नालासोपारा र वरपरका मानिसहरू प्रत्येक वर्ष बाढीका कारण दुःखी जीवन बिताउने गर्दछन्।

‘यो कुनै दुर्घटनागत चीज होइन। अधिक बार प्रत्येक वर्ष पानी पर्छ। कहिलेकाँही यो प्रकोपको रुपमा समेत परिणत हुन्छ। प्रशासनले पहिल्यै सचेत बनाएको भए मुम्बईमा अहिलेको जस्तो अवस्था आउँने थिएन’, स्थानीय गंगाप्रसाद भट्टराईले भने। यतिबेला मुम्बईमा सम्पूर्ण व्यवसाय ठप्प छन्। पूर्वाधारहरु बाढीले ध्वस्त बनाएको छ। मुम्बई आर्थिक रुपमा बलियो भएता पनि बाढीको नियन्त्रणमा भने निकै कमजोर देखिन्छ। लापरवाही र दूरदर्शिताको कमीले मुम्बईवासी हरेक वर्षादमा पीडा भोगिरहेका हुन्छन्।

प्रकाशित मिति: : 2020-08-07 16:24:41

प्रतिकृया दिनुहोस्