प्रधानमन्त्रीको कोरोना रिपोर्ट नेगेटिभ

प्रधानमन्त्री केपी ओलीको कोरोना पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेश मन्त्रीको सम्पर्कमा आएपछि प्रधानमन्त्री ओलीको पनि कोरोना परीक्षण गरिएको हो। प्रदेश–२ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना पोजिटिभ देखिएको थियो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण आशंकामा शुक्रबार बिहान दिइएको स्वाब परीक्षणको साँझ आएको नतिजा नेगेटिभ आएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। 

थापाका अनुसार प्रधानमन्त्रीसँगै नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कानुनमन्त्री डा.शिवमाया तुम्बाहाम्फे, मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईको समेत पीसीआर परीक्षण गरिएको थियो। सबैको रिपोर्ट नेगेटिभ आएको थापाले जानकारी दिए । 

शुक्रबार नै प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीको पीसीआर परीक्षणका लागि स्वाब दिइएको थियो । उनीहरुकोसमेत रिपोर्टसमेत नेगेटिभ आएको छ।

कोरोना संत्रमणबाट शुक्रबारसम्म नेपालमा ७१ जनाले ज्यान गुमाएका छन् । २२ हजार बढी संक्रमित छन् भने १५ हजार बढीले कोरोना जितेका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ४६४ जनामा संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति: : 2020-08-07 22:31:56

प्रतिकृया दिनुहोस्