नेपोलीलाई हराउँदै बार्सिलोना क्वाटरफाइनलमा

एजेन्सी

क्याम्प नोउ

बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ। प्रतियोगिता अन्तर्गत शनिबार राउन्ड अफ १६ को दोस्रो लेगमा नेपोलीलाई ३-१ ले पराजित गर्दै बार्सिलोना अन्तिम ८मा पुगेको हो। समग्रमा बार्सिलोनाले ४-२ को जित आत्मसात गर्‍यो।

बार्सिलोनाको मैदान क्याम्प नोउमा खेलको दशौँ मिनेटमा बार्सिलोनाले सुरुवाती अग्रता बनायो। कप्तान लिओनेल मेसीको प्रहार डिफ्लेक्ट हुँदै बाहिरीएपछि पाएको कर्नरमा बार्सिलोना गोल गर्न सफल रहयो । इभान राकिटिचको कर्नर प्रहारमा क्लेमेन्ट लेङलेटको हेडर गोलमा परिणत भएको थियो । कर्नरका क्रममा नेपोलीका डिएगो डेम्मेलाई लेङलेटले धकेलेपनि रेफ्रीले भिएआरको सहायताले गोललाई मान्यता दिए।

खेलको २२ औं मिनेटमा कप्तान मेस्सीले उत्कृष्ट गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे। नेपोलीको पेनाल्टी क्षेत्रबाहिर बल नियन्त्रणमा लिएका उनले सुरुवातमा तीन डिफेन्डरलाई बिट गर्दै लडेपछि त्यसै मुभमा दुई डिफेन्डरको बीचबाट गरेको प्रहार गोल भएको थियो। नेपोलीका गोलरक्षक डेविड ओस्पिनाले बल बचाउने प्रयास गरे पनि उनको हातमा लाग्दै बल गोल भएको थियो ।

३० औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई ३-० ले अगाडि बढाए पनि भीएआरले गोललाई मान्यता दिएन। लुइस सुआरेजको प्रहार गोलरक्षक ओस्पिनाले बचाएपछि रिबाउन्ड फ्रेकी डे जोङको खुट्टामा पुगेको थियो। डे जोङले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट उत्कृष्ट पास निकाल्दै मेसीलाई दिएपछि कप्तान मेसीले बल नियन्त्रणमा लिँदै गोलरक्षकलाई बिट गरे । बल नियन्त्रणमा लिने क्रममा मेसीले हातले बल छोएपछि गोलले मान्यता नपाएको हो।
खेलको ४१ औं मिनेटमा नेपोलीका कालिडु कौलिबालीले बल क्लियर गर्ने प्रयासमा मेसीलाई फल गर्न पुग्दा रेफ्रीले भीएआरको मदत लिँदै बार्सिलोनालाई पेनाल्टी दिए । मेसी र कौलिबालीको चोटका कारण खेल केहिबेर रोकिए पनि भीएआरको निर्णयपछि लुइस सुआरेजले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ३-० ले अगाडि बढाए।
इन्ज्युरी समयको दोस्रो मिनेटमा मिडफिल्डर राकीटिचले मर्टेन्सलाई लडाएपछि रेफ्रीले नेपोलीलाई पेनाल्टी दिए। कप्तान इन्सिग्नेले पेनाल्टीमा गोल गर्दै खेलमा नेपालीको सम्भावना जिवितै राखे। अन्तिम समयमा जोसे क्यालेहोनले अवसर सदुपयोग गर्न नसक्दा नेपोलीले अन्तर घटाउने मौका गुमायो।

नेपोलीले अन्तिम पाँच मिनेटमा लगातार बल पोसेसन राख्दै आक्रमणमा दबाब दिए पनि गोल गर्न  नसक्दा खेलमा फर्कन सकेन।

अब बार्सिलोनाले क्वाटरफाइनलमा बायर्न म्युनिखको सामना गर्नेछ । बायर्नले चेल्सीलाई समग्रमा ७-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । पहिलो लेगमा ३-० को जित दर्ता गरेको बायार्नले शनिबार ४-१ को जित हासिल गरेको हो। 

प्रकाशित मिति: : 2020-08-09 07:45:28

प्रतिकृया दिनुहोस्