राष्ट्रपति ट्रम्पले दावी गरेको भोलिपल्टै ७ वर्षीय बालकको मृत्यु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अर्को एक भनाईप्रति विवाद उत्पन्न भएको छ। अमेरिकी राष्ट्रपतिले बालबालिकामा रोगसँग लड्न सक्ने सम्भावना बलियो भएको जानकारी दिएको भोलिपल्टै जर्जियामा ७ वर्षीय एक बालकको मृत्यु भएको थियो।  

जर्जियाको स्वास्थ्य विभागले बिहीबार नै सात वर्षीय सावन्तको निधन भएको जानकारी दिएको छ। तर, यस कुरालाई केही दिन सार्वजनिक गरिएको थिएन। 

स्वास्थ्य विभागका निर्देशक डाक्टर लाउटन डेभिसले स्थानीय समाचार एजेन्सीलाई भनेका छन्, ‘कोभिड–१९ बाट मर्ने सबै रिपोर्ट हाम्रो लागि दुःखद छ। तर, यति सानो उमेरमा कसैको ज्यान जानु भनेको ह्दय चुडिनु जस्तै हो।’

यसै साता टेनेसीकी ६ वर्षीय बालिका तथा नेर्बेस्काका ६ वर्षीय बालकको कोरोना भाइरसका कारण निधन भएको थियो। यसअघि जर्जियामा सबैभन्दा कम उमेरका एक १७ वर्षीय किशोरको निधन भएको थियो। 

ट्रम्पले दावी गरेको भोली पल्टै भएको यो घटनालाई लिएर अमेरिकी जनताले एक पल्ट फेरि राष्ट्रपतिको भनाईप्रति हाँसो गरेका छन्। 

अमेरिकामा स्कुल खोल्न वकालत गर्दै आइरहेका ट्रम्पले गत बुधबार बालबालिकामा रोगसँग लड्न सक्ने क्षमता भएको बताएका थिए। 

राष्ट्रपतिको यो भनाई सार्वजनिक भएपछि सोसल मिडियामा उनको भनाईविरूद्ध प्रतिक्रिया दिनेको भिड लागेको थियो। धेरैले राष्ट्रपतिको भनाईलाई ‘झुटो दावी’ भनेका थिए।

प्रकाशित मिति: : 2020-08-09 13:36:05

प्रतिकृया दिनुहोस्