राष्ट्र बैंकले बैंकहरुलाई भन्यो-कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउनू

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई न्यूनतम कर्मचारीबाट सेवा प्रवाह गर्न, सिफ्ट अनुसार र घरबाट समेत काम गर्ने व्यवस्था मिलाउन भनेको छ ।

कोभिड १९ संक्रमणको सुरक्षा सम्बन्धी नेपाल सरकारको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सेवा सञ्चालन गर्न केन्द्रीय बैंकले माताहतका निकायलाई आईतबार अनुरोध गरेको हो ।

कोरोना भाइरसको संत्रास बढेसँगै सरकारले देशका विभिन्न स्थानमा गरेको बन्दाबन्दी, निषेधाज्ञा, सवारी साधनको आवागमनमा जोर-बिजोर प्रणाली लागू गरेपछि राष्ट्र बैंकले बैंकहरुलाई यस्तो निर्देशन दिएको हो। ।

जनस्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै सेवा निरन्तरताको योजना तयारी गरी कर्मचारीलाई आलोपालो उपस्थित भई काम गर्ने व्यवस्था गर्न तथा घरमै बसेर कार्यसम्पादन गर्ने व्यवस्था मिलाउन केन्द्रीय बैंकले जारी गरिएको निर्देशनमा भनिएको छ ।

यस्तै बैंक तथा बित्तीय संस्थाको प्रदेश तथा शाखा कार्यालयले पनि न्युनतम् कर्मचारीहरुबाट वैकल्पिक रुपमा आलोपालो सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले भनेको छ ।

संक्रमण जोखिम बढिरहेकाले विद्युतीय माध्यमबाट हुने कारोवारलाई प्रोत्साहन गर्न पनि बैंक तथा वित्तीय संस्थालाई आग्रह गरिएको छ ।

प्रकाशित मिति: : 2020-08-09 16:06:48

प्रतिकृया दिनुहोस्