मेक्सिकोबाट अमेरिका छिर्ने आधुनिक टनेल सीमा क्षेत्रमा फेला

‘जहाँ इच्छा, उही उपाय’ भन्ने नेपाली उखान अमेरिका–मेक्सिको सीमामा चरितार्थ हुँदै गरेको दृश्य देखिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गत निर्वाचनमा एउटा एजेन्डा थियो। आफू राष्ट्रपति भएपछि अमेरिका–मेक्सिको बीचको सीमामा पर्खाल लगाउने। चुनावमा अमेरिकी जनतासँग गरेको यो बाचा उनले गत वर्ष पर्खाल लगाएर पुरा गरे।

हेर्नुहोस्-

विश्वका सबै नागरिकलाई अमेरिकामा बसोबास गर्ने ठूलो इच्छा हुन्छ। तर, धेरै कारणले सबै जना अमेरिका प्रवेश गर्न सक्दैनन्। यस्ता नागरिकहरू विगतमा मेक्सिकोहुँदै गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने गर्थे। अमेरिकी सरकार पनि गैरकानुनी रूपमा देश प्रवेश गर्ने मेक्सिकोका जनताहरूको मुद्दाबाट हैरान थियो।

यसै कारण पनि अमेरिकाले छिमेकी मेक्सिकोसँगको सीमामा पर्खाल लगाएको थियो। तर, ट्रम्प प्रशासनले लगाएको पर्खाललाई चुनौति दिन अमेरिका–मेक्सिको सीमालाई जोड्ने आधुनिक टनेलहरू फेला पर्न थालेका छन्।

अमेरिकाको ‘इमिग्रेसन एण्ड कस्टम्स इन्फोर्समेन्ट एजेन्ट (आईसीई)’ ले अमेरिका छिर्न मेक्सिकोबाट गोप्य ‘टनेल’ को निर्माण भएको र यही टनेलमार्फत अवैध रूपमा मानिसहरू धमाधम अमेरिका छिरिरहेको पत्ता लगाएको छ।

आईसीईले सीमामा बनेको यो गुफाको जानकारी पाएपछि यसको अनुसन्धान गरिरहेको छ। गत शुक्रबार आईसीईले सार्वजनिक गरेको रिपोर्टमा स्पष्ट बताइएको थियो, जुलाई २७ मा युमास्थित सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा यसको जानकारी पाएपछि बृहत अध्ययनको काम भइरहेको छ।

यस टनेलमा पानीको पाइप, काठका चोइटा मात्र होइन, २५ फिट मुनी क्यामरा पनि फेला परेको छ। 

फोनेक्सका विशेष सरकारी अधिकारी स्कट ब्राउनले एउटा विज्ञप्ति नै सार्वजनिक गरेर टनेलबाट मानिसको ओसारपोसार मात्र होइन, अन्य कुराको तस्करी पनि भइरहेको आशंका गरेका छन्। टनेल मेक्सिकोको सान लुइसबाट अमेरिकाको एरिजोनास्थित सान लुइस सीमासम्म आइपुग्छ।

अमेरिकी सरकारका उच्च अधिकारीले यति व्यवस्थित टनेल इतिहासमै पहिलो पल्ट देखेको बताएका छन्। अमेरिकाले यसको फोटो पनि सार्वजनिक गरेको छ। गत जनवरीमा पनि सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा सुरक्षाकर्मीले दक्षिणपूर्वी सीमामा दुई देशबीच लामो अवैध टनेल फेला पारेका थिए। दक्षिणी क्यालिफोर्नियाको सीमाबाट मेक्सिकोको तिजुआनासम्म यो टनेल ४ हजार ३ सय ९ फिट फैलिएको छ।

प्रकाशित मिति: : 2020-08-09 17:02:23

प्रतिकृया दिनुहोस्