अन्तरजिल्ला यातायात र हवाई उडान भदौ १५ गतेदेखि खुलाउन सिफारिस

अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १५ गतेदेखि मात्रै खुल्ने भएका छन्। कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को आइतबार बसेको बैठकले यसलाई १५ दिन पर सार्न सिफारिस गरेको हो।

५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि निर्णय गरेको थियो।

तर काठमाडौंलगायत देशका विभिन्न क्षेत्रमा कोरोन संक्रमितको संख्या र जोखिम बढेसँगै सीसीएमसीले ती सेवा सञ्चालनको अवधि १५ दिन पर सार्ने प्रस्ताव गरेको हो।

यता सीसीएमसीले छोटो, मध्य र लामो दुरीमा अन्तरजिल्ला निजी तथा सार्वजनिक यातायात, आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा जस्ता कार्य भदौ १५ सम्म स्थगित गर्न सिफारिस गरेको छ।

अन्तराष्ट्रिय सीमा नाकाहरुमा थप कडाई गर्न पनि सीसीएमसीको बैठकले सिफारिस गरेको छ। भारतबाट आउने नेपालीहरुका लागि तोकिएको प्रवेश बिन्दु २० बाट १० मा झारिनेछ भने अन्यत्रबाट आउनेहरुलाई पूर्ण रुपमा निषेध गरिनेछ।

यस्तै सीसीएमसीले दैनिक रुपमा किनमेल गर्न, कामदार ल्याउन हुने आवतजावततलाई पूर्ण रुपमा बन्द गर्न सिफारिस गरेको छ।

बैठकले कोरोना संक्रमितको केस २०० भन्दा बढी भएका जिल्ला र काठमाडौं उपत्यकाका सरकारी तथा गैरसरकारी निकाय, बैंक तथा वित्तीय संस्था लगायत जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेका निकायहरुलाई अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाहमा जोड दिने निर्णय समेत गरेको छ। 

यसरी सेवा प्रवाह गर्दा अत्यावश्यक सेवाको हकमा ७/७ दिन तथा अन्य कार्यालयको हकमा १५/१५ दिनको आलोपालो मिलाई ५० प्रतिशतलाई कार्यालय र बाँकीलाई घरबाट काम गर्ने व्यवस्था मिलाउन भनेको छ।

सीसीएमसीको आइतबार बसेको बैठकले उक्त प्रस्ताव भोलि सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले अनुमोदन गर्न सक्नेछ।

 

प्रकाशित मिति: : 2020-08-09 22:43:48

प्रतिकृया दिनुहोस्