‘सुरक्षित ठाउँ पहिचान गरेर पर्यटक बोलाऔं’

हिमाल खबर

काठमाडौं

राजु बास्कोटा

नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी कोभिड—१९ पछि पर्यटन क्षेत्रको अनुसन्धान तथा पर्यटन सम्बद्ध अन्तर्राष्ट्रिय संस्थासँग समन्वयमा व्यस्त छन्। पछिल्लो समय जोशीले संयुुक्त राष्ट्र संघको विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ) का पूर्व महासचिव डा. तालेव रिफाइको संरक्षकत्वमा घोषणा भएको ‘पर्यटन परियोजना’ मा नेपालबाट पर्यटन विज्ञका रुपमा आबद्ध भएर काम गरिरहेका छन्। कोभिड–१९ पछिको पर्यटनको अवस्था र यो क्षेत्रको पुनरुत्थानको सम्भावना लगायत विषयमा जोशीसँग हिमालखबरका राजु बास्कोटाले गरेको कुराकानीको सारसंक्षेपः

कोभिड–१९ महामारी शुरु भएपछि नेपालको पर्यटन क्षेत्रको अवस्था कस्तो छ?

कोभिड–१९ महामारीको असर अरुभन्दा पर्यटन क्षेत्रमा बढी छ। ठूलो लगानी र रोजगारी जोखिममा परेको छ। होटल, रेस्टुरेन्ट बन्द हुँदा र पर्यटक आगमन ठप्प भएका कारण पर्यटन क्षेत्रका करीब ११ लाख जनशक्ति प्रभावित छन्।

बन्दाबन्दीको चार महीनापछि सरकारले होटल–रेष्टुरेन्ट खुलाइसकेको छ र पर्यटनका अन्य क्षेत्र खुलाउने निर्णय पनि गरिसकेको छ। तर संक्रमण बढिरहँदा व्यवसायी नै अन्योलमा छन् नि !

करीब ४५ देशले अन्तर्राष्ट्रिय नाका तथा उडान खोलिसकेका छन्। धेरैजसो देशले आन्तरिक पर्यटक र अर्थतन्त्रका गतिविधिलाई खुलाएका छन्। दक्षिण एशियाकै कुरा गर्दा, माल्दिभ्सले दुई साताअघि अन्तर्राष्ट्रिय उडान शुरु गरेको छ। श्रीलंकाले मध्य अगष्टबाट अन्तर्राष्ट्रिय नाका खोल्दैछ। नेपालमा पनि होटल क्षेत्र १५ साउनदेखि खुला भएको छ भने १ भदौदेखि हवाई उडान खुला गर्ने तयारी छ। श्रीलंका र भारतले यसअघि नै आन्तरिक गतिविधिलाई खुला गरिसकेका छन्। विश्वमा कोभिडको भ्याक्सिन नै आयो भने पनि यसको उपलब्धता र आपूर्तिका कारण यो नियन्त्रणमा आउन अझै लामो समय लाग्नेछ। त्यसैले आवश्यक सुरक्षा मापदण्ड अपनाएर विस्तारै आर्थिक गतिविधि बढाउनुको विकल्प छैन।

प्रकाशित मिति: : 2020-08-10 12:32:21

प्रतिकृया दिनुहोस्