डोटीमा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु

डोटीको बाँझककनीमा घर भत्किँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ। अरु पाँचजना घाइते भएको प्रहरीले जनाएको छ। 

आदर्श गाउँपालिका १ खलगडामा गएराति करिब एक बजे स्थानीय अन्दाजी ३२ वर्षीय लोगे विकको घर भत्किँएकाे हाे।

घटनामा उनकी श्रीमती ३५ वर्षकी श्रीमती विष्णा लुहार, उनका ११ वर्षका छोरा पारस लुहार तथा छोरीहरु सात वर्षकी निरु लुहार र चार वर्षकी जेनिसा लुहारको मृत्यु भएकाे डिएसपी इन्द्रबहादुर मल्लले जानकारी दिएका छन्।

घटनामा लोगे, उनकी आमा ताना लुहार र एक छोरी घाइते भएका छन्। यस्तै भेटघाट गर्न आएका लोगेकी सासु आमा र साला पनि घाइते भएका छन्। उनीहरुको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि दिपायल लगिएको प्रहरीले जनाएको छ। 

लगातार वर्षा भएको र ढुंगा–माटोको गारो युक्त पुरानो घर राति सुतेका बेलामा भत्किएकाले क्षति ठूलो भएको प्रहरीको अनुमान छ। 

प्रहरी घटनास्थलमा पुगिसकेको छ। घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ।
 

प्रकाशित मिति: : 2020-08-11 08:28:57

प्रतिकृया दिनुहोस्