दोहोरो नागरिकतामा कालोधन चोख्याउने खेल: मिन्स्क भोड्काकी सञ्चालक नेपालमा हुँदा रानी, भारतमा मीना

मिन्स्क भोड्काको उत्पादक ‘सन्नी डिष्ट्रलरी’मार्फत् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एकजना प्रभावशाली नेता तथा पूर्वमन्त्रीले सम्पत्ति शुद्धीकरण गरिरहेको आशंकामा सरकारी निकायले प्रारम्भिक अनुसन्धान सुरु गरेका छन् । 

उच्च सरकारी स्रोतका अनुसार भारतीय श्रीमानमार्फत् दोहोरो नागरिकता भएकी रानी गजमेरसँग मिलेर कालोधन थन्काउने कार्यमा अर्का क श्रेणीको बैंकका सञ्चालकसमेत अनुसन्धानमा तानिएका छन्। 

स्रोतका अनुसार बेलारुसको राजधानीका नामको उत्पादनका सञ्चालक भारतीय नागरिक हुन् । पश्चिम बंगालका देव सेठ्ठी मुख्य सञ्चालक रहेपनि उनले कारोबारको हर्ताकर्ता नेपाली महिला रानीलाई बनाएका थिए । 

उनै रानीलाई भारत र नेपालमा दोहोरो नागरिकता दिलाएर कारोबार हुन थालेपछि सरकारी निकाय सर्तक भएका हुन् । 

‘रानीको दोहोरो नागरिकता र दुबै देशमा ठूलो बैंकिङ कारोबार रहेको प्रारम्भिक सूचना प्राप्त भएको छ,’ उच्च सरकारी स्रोतले भन्यो, ‘हामी अनुसन्धान गरिरहेका छौं।’

बिएल मिडियालाई प्राप्त कागजपत्र अनुसार रानीले नाममा जिल्ला प्रशासन कार्यालय इलामबाट जारी भएको नागरिकता लिएकी छिन्। यता उनले भारतबाट भने मीना डी सेट्ठीका नाममा नागरिकता लिएको देखिएको छ।

रानीका नाममा २०५४ सालमा बंशज नागरिकता जारी भएको छ । भने भारतबाट पतिका नाममा नागरिकता जारी गरिएको छ । 

नेपालमा कारोबार गर्दा इलामको दानावारी ठेगानामा रहेको नागरिकता र भारतमा कारोबार गर्दा मीना बन्ने गरेकी छन्। 

बिएल मिडियाले सम्पर्क गर्न खोज्दा रानीले प्रयोग गर्ने नम्बर ‘स्वीच अफ’ छ । उनका सहयोगी राम कार्कीसँग सम्पर्क गर्दा उनले आफू कम्पनीबाट अलग भइसकेको बताए । 

स्रोतका अनुसार कार्कीलाई रानीले भने अनुसार बोल्न लगाइएको हो । यतिबेला नेकपाका नेता तथा बैंकर उनलाई जोगाउन अनेक प्रपञ्चमा जुटिरहेका छन् । 

रानी अनुसन्धानमा तानिए आफूहरु फस्ने भएपछि इलामबाट लिएको नागरिकता वा भारतबाट लिएको नागरिकतामध्ये एउटा त्याग्न लगाएर यो अनुसन्धान सामसुम पार्ने प्रयास भइरहेको छ । 

नेपालमा नागरिकता ऐन २०६३ अनुसार दोहोरो नागरिकता राख्न पाइदैन् । नेपालको नागरिकता वा भारतको नागरिकतामध्ये एउटा त्याग्नु पर्ने हुन्छ । 

तर, रानीले दुबै नागरिकतामार्फत् दुबै देशमा दोहोरो आर्थिक कारोबार गरिरहेकी छिन् । कानुन अनुसार कसुर प्रमाणित भए तीनवर्ष कैद र नेपाल तथा भारतमा रहेको कारोबार सम्बन्धित देशले जफत गर्न सक्नेछ।
 

प्रकाशित मिति: : 2020-08-12 21:38:37

प्रतिकृया दिनुहोस्