'फोर्ब्स' को सर्वाधिक कमाइ गर्ने अभिनेताको सूचीमा अक्षय कुमार बलिवुडका एक्लो स्टार

एजेन्सी

मुम्बई

'फोर्ब्स'को सन् २०२० का लागि सर्वाधिक कमाइ गर्ने शीर्ष १० अभिनेताको सूची सार्वजनिक भएको छ ।

यो सूचीमा स्थान बनाउने अक्षय कुमार बलिवुडका एक्लो अभिनेता हुन्। उनी ४८ दशमलव ५ मिलियन डलर कमाइसहित सूचीको छैटौँ स्थानमा छन् । 

फोर्ब्सका अनुसार यो सूचीमा अटाएका धेरैजसो अभिनेताको कमाइ वस्तुको प्रवर्द्धनका कारण भएको हो, यसमा अक्षय कुमार पनि पछि छैनन् ।  

अक्षय कुमार एक वर्षमै धेरै चलचित्र गर्ने अभिनेताको रुपमा चिनिन्छन् । अझै पनि उनको धेरै चलचित्र लाइनमा छ । अक्षय कुमार अहिले चलचित्र 'बेल बटम' को शुटिङका लागि यूकेमा छन् । अक्षयको चलचित्र लक्ष्मी बम्ब, सूर्यवंशी, पृथ्वीराज, अतरंगी रे रिलीज हुनै बाँकी छ । 

यो सूचीको पहिलो नम्बरमा ड्वेन जोनसन छन्, उनलाई 'द रक'को नामले पनि चिनिन्छ । ड्वेनले १ जुन २०१९ देखि १ जुन २०२० सम्म ८७ दशमलव ५ मिलियन डलर कमाइ गरेका छन् ।

हलिवुड अभिनेता रयान रेनल्ड्स ७१ दशमलव ५ मिलियन डलरको कमाइसहित दोस्रो नम्बरमा छन् । फोर्ब्सको सूचीको तेस्रो नम्बरमा मार्क व्हालबर्ग ५८ मिलियन डलरको कमाइसहित छन् । 

चौथौ नम्बरमा अभिनेता, निर्देशक बेन एफ्लेक (५५ मिलियन डलर) , पाँचौँ नम्बरमा भेन डिजल (५४ मिलियन डलर), छैठौ नम्बरमा अक्षय कुमार (४८ दशमलव ५ मिलियन डलर), सातौँमा म्यानुएल मिरान्डा (४५ दशमलव ५ मिलियन डलर), आठौँमा विल स्मिथ (४४ दशमलव मिलियन डलर), नवौँमा एडम स्यान्डलर (४१ मिलियन डलर), १० औँ नम्बरमा ज्याकी चेन (४० मिलियन डलर) छन् ।

प्रकाशित मिति: : 2020-08-13 00:15:55

प्रतिकृया दिनुहोस्