स्वाब संकलनमा सहयोग गर्न पूर्वसञ्चारमन्त्री बस्नेतलाई मेयरकाे आग्रह

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाले पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतको परिवारलाई स्वाब संकलनमा सहयोग गर्न आग्रह गरेको छ।

बाह्रबिसे ४ पलाति निवासी बस्नेतका बुबा खड्गबहादुरको उपचारका क्रममा साउन २२ गते मनमोहन कार्डियोभास्कुल एन्ड ट्रान्सप्लान्ट सेन्टरमा ८४ वर्षीयको उमेरमा निधन भएको थियो। 

कोरोना परीक्षणको रिपोर्ट नआइकनै उनको २३ गते बाह्रबिसे बगरमा अन्त्यष्टि गरिएको थियो। तर ६ दिनपछि मृतकमा कोरोना संक्रमण पुष्टि भएको थियो।

उनमा संक्रमण पुष्टि भएसँगै बुधबार जिल्ला जनस्वास्थ्य कार्यालयको टोली स्वाब शव अन्त्येष्टिमा सहभागी २१ जनाको स्वाब संकलन गरेको थियो। 

तर परिवारले मृत्यु संस्कार लगायतका कारण देखाउँदै स्वाब दिन अस्वीकार गरेको नगरपालिकाका मेयर निमाफुन्जो शर्पाले बताएका छन्। 

शर्पाले बिहीबार वक्तव्य जारी गर्दै परिवारले स्वाब दिन नमान्दा सहभागी मलामी र नगरबासीमा त्रास रहेको भन्दै उनले भनेका छन्, ‘नगरवासी र अन्यको स्वास्थ्यप्रति सजग हुनु सुरु गरिएको स्वाब संकलनमा सहयोग गर्नु मृतकका परिवारसहित संक्रमणको जोखिममा रहेका सबैको दायित्व पनि हो।’

अस्पताल र स्वास्थ्य मन्त्रालयप्रपत परिवारको मतभेद वा गुनासो हुनसक्ने भन्दै मेयलले समन्वयका लागि नगरपालिकाको चर्फबाट सहयोग गर्ने समेत बताएका छन्।

‘राजनीतिक कुचेष्टा’ 

पूर्वमन्त्री बस्नेतले दुवै किड्नीको खराबीले निधन भएको जानकारी गराएपछि मात्र आफ्ना पिताको शवको दाहसंस्कार गरिएको बताए।

‘निधन भएको केही दिन पहिले शिक्षण अस्पताल महाराजगन्जमा पिसिआर परीक्षण गर्दा नेगेटिभ आएको थियो। त्यसपछि चिकित्सककै  सल्लाहअनुसार घरमै आराम गर्न पठाउनु भएको थियो,’ उनले भने। 

राजनीतिक कुचेष्टा राखेर गलत सूचना सार्वजनिक भएको पूर्वमन्त्री बस्नेतले बताएका छन्। उनले अहिले गलत प्रचार गर्नुलाई अमानवीयताको भएको बताए।

‘मत्युको ६ घण्टापछि आउने रिपोर्ट सातापछि आउनु हाम्रो कमजोरी होइन। कोरोना संक्रमणनै थियो भने हामीलाई अघिल्लो दिन नै शव बुझ्न किन भनियो?,' बस्नेतले प्रश्न गरे।

कोरोना पुष्टी भएको घटनाले दाहसंस्कारमा गएका नातागोता, आफन्त र शुभचिन्तक पनि अन्यौलमा परेका छन्। बाह्रबिसे नगरपालिकाले नगरको केही वडा र क्षेत्रलाई सिल गरेको सूचना सार्वजनिक गरेको छ।

 

प्रकाशित मिति: : 2020-08-13 17:28:39

प्रतिकृया दिनुहोस्