एट्लेटिकोलाई हराउँदै लेपजिक सेमिफाइनलमा

एजेन्सी

काठमाडाैं

जर्मन क्लब आरबी लेपजिक यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।

लिस्बनमा भएको खेलमा स्पेनिस टोली एट्लेटिकोको म्याड्रिडलाई २–१ गोलले पराजित गर्दै लेपजिक क्वाटरफाइनलमा पुगेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफमा तीन गोल  भएको थियो। 

लेपजिकले ड्यानी ओल्मोको गोलमा अग्रता लिएपनि वैकल्पिक खेलाडी जोआओ फेलिक्सले एट्लेटिकोलाई खेलमा फर्काएका थिए। 

तर खेलको २ मिनेट समय बाँकी रहँदा बेन्चबाट आएका टाइलर एडम्सले गोल गर्दै लेपजिकको जित पक्का गरे।

खेलको ५१ औं मिनेटमा लेपजिकले ओल्मोको गोलमा अग्रता लियो। कप्तान साबिट्जरले दायाँ विङ्गबाट दिएको क्रसलाई ओल्मोले पेनाल्टी क्षेत्र भित्रबाट हेडरमार्फत गोल गरेका थिए। 

७० औं मिनेटमा लुकास कोल्स्टरम्यानले जोआओलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिए। जसलाई उनैले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए।

खेलको ८८ औं मिनेटमा लेपजिकले पुनः अग्रता लियो। एन्जेलिनोको पासमा टाइलर एडम्सले प्रहार गरेको बल डिफेन्डरलाई लाग्दै गोलमा परिणत भएको थियो।

लेपजिकले अब सेमिफाइनलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को सामना गर्नेछ। 
 

प्रकाशित मिति: : 2020-08-14 05:56:26

प्रतिकृया दिनुहोस्