बेकह्यामको क्लब मियामीले अनुबन्ध गर्‍याे माटुइडी

एजेन्सी

काठमाडाैं

अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीले फ्रान्सका मिडफिल्डर ब्लेस माटुइडीलाई अनुबन्ध गरेको छ।

इंग्लिस स्टार डेविड बेकह्यामको क्लब इन्टर मायमीले  इटालियन च्याम्पियन युभेन्ट्सका फ्रेन्च मिडफिल्डरलाई अनुबन्ध गरेको हो।

फ्रान्सले २०१८ विश्वकप जित्दा टोलीका सदस्य रहेका माटुइडीलाई युभेन्ट्सले सम्झौता अवधि एक वर्ष बाँकी रहँदै फुकुवा गरेपछि पूर्व सहकर्मी बेकह्यामको क्लब रोजेका हुन्।

३३ वर्षे माटुइडीले पछिल्लो सिजन सबै प्रतियोगितामा ४५ खेल खेलेका थिए। उनले क्लबका लागि भने कुल १ सय ३३ खेल खेलेका छन्।

माटुइडीलाई युभेन्ट्सले सन् २०१७ मा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट अनुबन्ध गरेको थियो। उनले युभेन्ट्सबाट तीन सिरी ‘ए’ उपाधि जितेका छन्। यस्तै माटुइडीले पीएसजीबट चार पटक फ्रेन्च लिग वान उपाधि जितेका थिए।

यसअघि बेकह्याम र माटुइडीले पीएसजीबाट सँगै खेलेका थिए। ‘मेरो साथी ब्लेइसलाई मायमीमा स्वागत गर्न पाउँदा म खुशी छु। उनी एक रमाइलो र प्रतिभाशाली खेलाडी हुन्,’ बेकह्यामले भने, ‘हाम्रो नयाँ टिममा ब्लेइस जस्तो विश्वविजेता खेलाडी हुनु गर्वको क्षण हो।’

माटुडीले मायमीबाट डेब्यु खेलको लागि सेप्टेम्बर पहिलो सातासम्म कुर्नुपर्ने छ। उनले कोराेना परीक्षण गरेपछि दुई साता क्वारेन्टाइनमा बस्नुपर्ने छ। 

सम्झौतापछि माटुइडीले भने, ‘यो मेरो लागि ठुलो चुनौती हो र म मेरो नयाँ टिमका साथीहरु र समर्थकहरु हेर्न पाउँदा उत्साहित छु। म सक्दो मेहेनत गर्नेछु।’
 

प्रकाशित मिति: : 2020-08-14 07:46:30

प्रतिकृया दिनुहोस्