काश्मिरमा एक महिनाभित्र ५ भाजपा कार्यकर्ताको हत्या, डरका कारण ४० जनाद्धारा राजीनामा

एक महिनाभित्र ५ कार्यकर्ताको हत्या भएपछि सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का ४० कार्यकर्ताले काश्मिरमा पदबाट राजीनामा गरेका छन्। 

भाजपाले गत वर्ष सरकारले दिँदै आएको विशेष राज्यको दर्जालाई हटाएर काश्मिरलाई केन्द्र सरकारको मातहतमा ल्याएको थियो। धारा ३ सय ७० हटाउने निर्णयसँगै काश्मिरमा तनावको स्थिति छ भने सरकारले एक वर्ष यतादेखि कर्फ्यु हटाउन सकिरहेको छैन। 

यसैबीच व्यक्ति हत्याको गतिविधि पनि काश्मिरमा तीब्र हुन थालेको छ। जम्मू–काश्मिरका गर्भनर मनोज सिन्हाले एक महिनाभित्र ५ भाजपा कार्यकर्ताको हत्या भएपछि पञ्चायतसँग जोडिएका राजनीतिक कार्यकर्तासँग सर्वदलीय बैठक गरेका थिए। बिजेपीका एक कार्यकर्ता गम्भीर हालतमा अस्पतालमा उपचार गराइरहेका छन्। 

काश्मिरमा विगत एक महिनाभित्र २ प्रधानपञ्च, भाजपाका एक युवा नेता तथा उनका भाई र बुवाको हत्या भएको छ। 

आफू र परिवारमाथि हुन सक्ने हमलाको डरले ४० जनाले पार्टी मात्र होइन, राजनीति नै छोड्ने घोषणा गरेका छन्। 

दक्षिण काश्मिरको कलगाम जिल्लामा बसोबास गर्ने प्रधानपञ्च मोहम्मद इकबालले स्थानीय पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘श्रीमतीको धेरै अगाडि निधन भइसकेको छ। म पनि मारिए भने केटाकेटीको हेरबिचार कस्ले गर्छ?’

काश्मिरमा ६८ जिल्ला पञ्चायत छन्, जसमा प्रधानपञ्च तथा सदस्य गरेर १२ सय ६७ जना नियुक्त छन्। यसमा धेरै जसो भाजपा पार्टीसँग आवद्ध छन्। 

काश्मिरमा पञ्चायतको चुनाव सन् २०१९ को अक्टुबरमा भएको थियो। यसमा पिपुल्स डेमोक्र्याटिक पार्टी तथा नेशनल कान्फ्रेन्सले भाग लिएका थिएनन्। यी पार्टीका नेताहरू संविधानको ३ सय ७० अनुच्छेद हटाएपछि पक्राउ परका थिए।

प्रकाशित मिति: : 2020-08-14 07:52:00

प्रतिकृया दिनुहोस्