चीनलाई मध्यपूर्वमा रोक्न इजरायलको अरब राष्ट्रसँग पहिलो शान्ति सम्झौंता 

चीन र इरानबीच बढ्दो हिमचिमका कारण इजरायल र संयुक्त अरब इमिरेट्सबीच ऐतिहासिक शान्ति सम्झौंता भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार यसको घोषणा गरेका छन्। 

तीन देशका प्रमुख ट्रम्प, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अबु धाबीका राजकुमार मोहम्मद अल नाहयानले संयुक्त घोषणा पत्र पनि सार्वजनिक गरेका छन्। जसमा इजरायल र युएईबीचको ऐतिहासिक सम्झौंताले यो क्षेत्रमा शान्ति स्थापना गर्न मद्दत पुग्ने बताइएको छ। 

युएईसँगको सम्झौंतापछि इजरायलको ‘वेष्ट ब्याङ्क’ कब्जा गर्ने अभियान रोकिएको छ। इजरायल ‘ग्रेटर इजरायल’ को नीति अनुरुप आक्रामक रूपमा ‘वेष्ट ब्याङ्क’ कब्जा गर्ने अभियानमा थियो। तर, चीन र अमेरिकाबीच दक्षिणी चिनियाँ सागरमा बढ्दो तनावका बीच अन्तर्राष्ट्रिय रूपमा थुप्रै समिकरण फेलबदल भएको छ। 

चीनले इरानसँग हालै ४ सय बिलियन डलरको आर्थिक सम्झौंता गरेपछि दुई देश नजिकिरहेको बेला अमेरिकाको रोहबरमा इजरायल र युएईबीच शान्ति सम्झौंता भएको हो। यसले मध्यपूर्वमा चीनको बढ्दो प्रभावलाई कम गर्न भूमिका खेल्ने केही विश्लेषकहरूको भनाई छ। यसअघि इजरायलको खाडीको कुनै अरब देशसँग राजनीतिक सम्बन्ध थिएन। खाडीको अन्य देश जोर्डन र इजिप्टसँग भने इजरायलको राजनीतिक सम्बन्ध पहिलेदेखि थियो। 

अब दुबै देशले एकअर्काको ठाउँमा आधिकारीक रूपमा दुतावास स्थापना गर्नेछन्। साथै एकअर्काले लगानी, पर्यटन, उडान, सुरक्षा, दुरसञ्चार, टेक्नोलोजी, उर्जा, स्वास्थ्य, सांस्कृतिक र पर्यावरण क्षेत्रमा मिलेर काम गर्ने बताएका छन्। यसै साता युएई र इजरायली अधिकारीको भेट हुने बताइएको छ। 

सन् १९४८ मा इजरायलको स्थापना भएपछि उसले इजरायल–अरब शान्ति सम्झौंतामा तेस्रो पल्ट हस्ताक्षर गरेको हो। यसअघि इजिप्टसँग १९७९ र जोर्डनसँग १९९४ मा सम्झौंता भएको थियो।

यो पनि 

प्रकाशित मिति: : 2020-08-14 09:01:30

प्रतिकृया दिनुहोस्