इजरायल र युएईबीच ऐतिहासिक शान्ति सम्झौता, मध्य पूर्वको शक्ति सन्तुलनमा नयाँ आयम देखिने अनुमान

इजरायल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच शान्ति सम्झौता भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा ऐतिहासिक शान्ति सम्झौता भएको हो। जसकाे घोषणा अमेरिकी राष्ट्रपति ट्रम्पले नै गरेका छन्।

एक संयुक्त वक्तव्यमा राष्ट्रपति ट्रम्प, इजराइलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहू र अबुधाबीका क्राउन प्रिंस मोहम्मद अल नाहयानले यो ऐतिहासिक सफलताले मध्य पूर्वमा शान्ति बढ्ने उल्लेख गरेका छन्।

ट्रम्पले इजरायल र संयुक्त अरब इमिरेट्सबीचको सम्बन्धलाई सामान्य बनाउने भन्ने प्रस्ताव राख्दै आएका थिए।  

‘यो ऐतिहासिक सफलताले मध्यपूर्वमा शान्ति ल्याउनेछ,’ विज्ञप्तिमा भनेका छन्।

उनीहरुले यसैको परिणामस्वरुप इजरायलले पश्चिमी किनाराको वेष्ट बैंकको ठूलो हिस्सा मिलाउने आफ्नो योजना स्थगित गरेको पनि स्थगित जनाएकाे छ।

अहिलेसम्म इजरायलको खाडीका अरब देशहरुसँग राजनीतिक सम्बन्ध थिएन। तर, जोर्डन र इजिप्टसँग भने पुरानै कूटनीतिक सम्पर्कचाहीँ रहेको छ। 

यद्यपि, इजरायल र अरब देशहरुले यो क्षेत्रमा ईरानका विषयमा भने समान चिन्ता प्रकट गरेका छन्। त्यसकारण दुई पक्षबीच अनौपचारिक सम्पर्क सुरु भएको छ।

इजरायल र युएईको सम्झौतालाई अमेरिकी राष्ट्रपछि ट्रम्पले ऐतिहासिक शान्ति सम्झौता भनेका छन्। राष्ट्रपति ट्रम्पको घोषणाको प्रतिक्रियामा इजरायली प्रधानमन्त्री नेतन्याहुले ‘ऐतिहासिक दिन’ भएकाे बताएका छन्।

१९४८ मा इजराइल स्वतन्त्र भएको घोषणा गरिएपछि अरब मुलुकहरुले त्यसको विरोध गरेका थिए। चारैतिर मुस्लिम मुलुकले घेरिएको बीचमा सानो यहुदी राष्ट्र इजइरालको अरव मुलुकहरुसँग कहिल्यै पनि राम्रो सम्बन्ध रहेन।

एक पटक त अरब–इजराइल युद्धसमेत भइसकेको छ। जसमा इजराइल विजेता बनेको थियो। त्यसो त इजरायलले सन् १९७९ मा इजिप्ट र सन् १९९४ मा जोर्डनसँग एक सम्झौतामा हस्ताक्षर गरेको थियो।

सन् १९४८ मा इजरायल स्वतन्त्र भएपछि अरब मुलुकहरुसँग गरिएको यो तेश्रो शान्ति सम्झौता हो। त्यसपछि अहिले तेश्रोपटक अरबसँग शान्ति सम्झौता भएको हो।

आगामी हप्ता यी दुई मुलुकबीचका प्रतिनिधिमण्डलको बैठक बस्दैछ। जुन बैठकमा द्वीपक्षीय व्यापार, पर्यटन, ऊर्जा, प्रविधिका, हवाई सेवाका क्षेत्रमा पनि सम्झौता हुने जनाइएको छ।

यो सम्झौता पनि मध्य पूर्वको शक्ति सन्तुलनमा नयाँ आयम देखिने अनुमान गरिएको छ।

संयुक्त विज्ञप्तिअनुसार दुई देश मध्यपूर्वमा रणनीतिक एजेण्डा बनाउन अमेरिकालाई पनि सामेल गराउन तयार भएका छन्। 
 

प्रकाशित मिति: : 2020-08-14 06:53:05

प्रतिकृया दिनुहोस्