विवाद समाधानका लागि ओली –प्रचण्डबीच बालुवाटारमा वार्ता सुरु

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवादमा सहमति खोज्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच  ‍छलफल सुरु भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच छलफल सुरु भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। 

यसअघि बिहीबार प्रधानमन्त्रीसमेत रहेका ओली र प्रचण्डबीच झण्डै चार घण्टा छलफल भएको थियो। दुवै पक्षका दोस्रो तहका नेताहरू सहमतिको साझा र मिलन विन्दु खोज्न अध्यक्ष प्रचण्ड सवा ११ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।

एक साता लामो मौनतापछि प्रधानमन्त्री ओलीले एक टेलिभिजनमा बुधवार दिएको एक अन्तर्वार्तामा ५ दिनभित्र पार्टीको समस्या सुल्झने दाबी गरेका थिए। 
 
यसाे त दुई नेताको वार्तामा प्रधानमन्त्रीका तर्फबाट महासचिव विष्णु पौडेल र शंकर पोखरेल तथा प्रचण्डका तर्फबाट नेता जनार्दन शर्मा सहयोगिका रुपमा सहभागी हुँदै आएका छन्। 

द्विपक्षीय वार्तामा सहमतिका विविध विकल्पबारे छलफल हुने प्रचण्डको सचिवालयले जनाएको छ। 

नेकपामा ओलीको राजीनामाको विषय चर्को रुपमा उठेपछि असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठक अवरुद्ध बन्दै आएको छ।

खासगरी ओलीको राजीनामाको विषय प्रचण्डसहितका बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालहरुले उठाउदै आएका छन्। तर ओलीको राजीनामाको विषय बैठकमा अहिलेसम्म प्रस्तावका रुपमा लगिएको छैन।   

प्रकाशित मिति: : 2020-08-14 12:44:05

प्रतिकृया दिनुहोस्