सहकारी ठगीमा एमाले नेता पक्राउ, देउवा राजसंस्थाको पक्षमा खुलेकै हुन्? (भिडियो समाचार)

सहकारी ठगीमा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका एमाले नेता कृष्ण अर्याल पक्राउ परेका छन्।

सोह्रखुट्टेको दिगो पर्यटन सहकारी सस्थाबाट साढे ११ लाख ऋण लिएर नतिरेका अर्याललाई पक्राउपछि अदालती प्रक्रिया पूरा गरेर कारागार चलान गरिएको छ।

२०७४ सालमा आफैं सञ्चालक समितिमा रहेका बेला लिएको ऋण हालसम्म पनि नतिरेको र राजनीतिक आडमा रकम पचाउन खोजेको सहकारीको आरोप छ।

एमाले पेसागत विशेष प्रदेश कमिटीका सदस्य अर्याल एमालेको पर्यटन विभाग सदस्य समेत हुन्। हाल उनी एमाले उद्योग तथा व्यवसायी विशेष जिल्ला कमिटीका इञ्चार्जसमेत छन्।

000

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनको  सुनुवाइ आज पनि हेर्दाहेर्दैमा राखिएको छ।

मंगलबारदेखि सुनुवाइ सुरु गरिएको रविको मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। तर, बुधबार रविको मुद्दा हेरिरहेको संयुक्त इजलासका न्यायाधीशहरूको इजलास फरक-फरक परेपछि लामिछानेको मुद्दा हेरिएन।

रविसँगै पूर्वडीआईजी छविलाल जोशीको मुद्दा पनि एकैपटक हेरिँदै छ।

000

नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवालाई जोडेर राजसंस्थाका बारेमा प्रकाशित भएका समाचारको खण्डन गरेको छ।

केहीदिनअघि सभापति शेरबहादुर देउवा संवैधानिक राजतन्त्रप्रति सकारात्मक रहेको र पूर्वाराजा ज्ञानेन्द्र शाहका नाती हृदयन्द्रलाई संवैधानिक राजा स्वीकार्न तयार रहेको भन्दै समाचारहरू सार्वजनिक भएका थिए।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवा गणतन्त्रको संरक्षण र सम्वर्द्धनमा प्रतिवद्ध रहेको बताउँदै यस्ता भ्रामक समाचारको विश्वास नगर्न अपिल गरेका छन्।

सबै आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षाका लागि प्रतिवद्ध रहेको कांग्रेसले जनाएको छ।

000

धावनमार्गमा खाल्डो परेपछि सुर्खेत विमानस्थल मंगलबारदेखि बन्द भएको छ।

एउटा खाडल मर्मत सकेपछि फेरि अर्को खाडल देखिएपछि शनिबारसम्मका लागि विमानस्थल बन्द गरेर मर्मत गरिरहेको विमानस्थल प्रमुख हिराजन काफ्लेले बताएका छन्।

000

पाकिस्तानको गुप्तचर निकाय आईएसआईको एजेन्ट भएको आरोपमा भारतले एक नेपालीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार नेपाली मूलका नागरिक अनसरुल मियान अन्सारीलाई भारतीय सुरक्षा फौजले दिल्लीको एक होटेलबाट पक्राउ गरेको हो।

उनीहरूले पहलगामअघि त्योभन्दा पनि ठूलो आतंकवादी आक्रमणको तयारी गरेको बयान दिएका भारतको सुरक्षा निकायले जनाएको छ।

स्लीपर सेल एजेन्ट भनेर चिनिने ती खुफिया एजेन्टहरूलाई अहिले तिहाड जेलमा राखिएको छ।

000

अमेरिकाको वाशिंटन डीसीमा इजरायली दूतावासका दुईजना कर्मचारीको गोली हानी हत्या गरिएको छ।

डीसी शहरमा रहेको यहूदी संग्रहालय बाहिर स्थानीय समयअनुसार बुधबार राति ९ बजेर ५ मिनेटमा गोलीकाण्ड भएको थियो। गोलीकाण्ड भएको स्थान एफबीआईको वाशिंगटन फिल्ड कार्यालयसहित धेरै पर्यटकीय स्थलहरू, संग्रहालयहरू र सरकारी भवनहरू भएको क्षेत्रमा पर्छ।

आक्रमणपछि आक्रमणकारीले ‘स्वतन्त्र, स्वतन्त्र प्यालेस्टाइन’ भन्दै चिच्याएका थिए। आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकहरूको पहिचान गोप्य राखिएको छ।

प्रकाशित मिति: : 2025-05-22 21:22:00

प्रतिकृया दिनुहोस्