कमला ह्यारिसको अमेरिकी उपराष्ट्रपति उम्मेदवारीमा नयाँदिल्ली त्रसित

डेमोक्रयाटिक पार्टीको तर्फबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले सांसद कमला ह्यारिसलाई उपराष्ट्रपति उम्मेदवार बनाउने घोषणासँगै नेपाल-भारतमा खुब् चर्चा भयो।

उपराष्ट्रपति उम्मेदवार कमला भारतीय मूलकी अमेरिकी नागरिक हुन्। बुबा जमैकामा जन्मिएका थिए भने आमा भारतमा जन्मेकी थिइन्। कमला उपराष्ट्रपति पदको उम्मेदवार हुने पहिलो एसियन मूलकी अमेरिकी समेत हुन्।

कमला भारतीय मूलकी भए पनि, उनको अभिलेख नयाँदिल्लीको पक्षमा देखिँदैन। उनी भारतीय सरकारको नीति बिरूद्ध अहिलेसम्म कडा रुपमा प्रस्तुत भएकी छन्। कमलाले काश्मिर मुद्दादेखि नागरिकता संशोधन कानुनसम्म भारत बिरोधी अडान लिएको प्रस्ट छ।

गत वर्ष उनले कश्मीर सम्बन्धि दिएको अभिव्यक्ति भारतमा बिरोध र पाकिस्तान तारिफको बिषय बनेको थियो। कमलाले भनेकी थिइन्- ‘हामीले काश्मिरका नागरिकलाई सम्झाउनुपर्छ किनकी उनीहरु विश्वमा एक्लै छैनन्।’

वास्तवमा, उनी काश्मिर हस्तक्षेप माग गर्ने पक्षको समर्थक हुन्। भारतमा नागरिकता संशोधन ऐनको पारित भएपछि, अमेरिकी संसदमा ऐनको बिरुद्धमा डेमोक्रयाटिक पार्टीका भारतीय मूलका अमेरिकी सांसदहरु राजा कृष्णमूर्ति, प्रमीला जयपाल, रो खन्ना, अमी बेरा र कमला ह्यारिसले दह्रो रुपमा बिरोध गरेका थिए।

सांसद प्रमीला जयपालले त झन् काश्मिरमा प्रतिबन्ध अन्त्य गर्ने प्रस्ताव समेत पेश गरेकी थिइन्। भारतीय मुलका अमेरिकी सांसदहरुको भारतप्रति पछिल्लो बुझाई र कमलाको उपराष्ट्रपति उम्मेदवारीले यतिबेला नयाँ दिल्ली झस्किएको छ। भारतीयहरु अहिले कमलालाई गम्भीर आरोप समेत लगाउँछन्। उनीहरु भन्छन्- ‘कमलाले काश्मिरमा मानवअधिकारको कडा आवाज उठाइन् तर, उपत्यकामा आंतकवादी हमलामा निर्दोष भारतीय मारिदा भने उनी चुप लागिन्।’

अमेरिकी उपराष्ट्रपति उम्मेदवार कमलालाई पाकिस्तानमा हिन्दुहरु माथि गरिएको अत्याचार र लद्दाखमा चिनियाँ सेनासँगको हिंसात्मक झडपमा नबोलेको कतिपय भारतीय मूलका अमेरिकीहरु आरोप लगाइरहेका छन्। कमलाको आगामी नतिजामा नयाँ दिल्ली पर्ख र हेरको अवस्थामा छ। पछिल्लो समय कमलाबिरुद्ध भारतीय मिडिया उत्रिनुमा कतिपय त भारत सरकारको अदृश्य नीतिका रुपमा समेत चित्रण गर्छन्। यति हुदाँहुदै पनि कमला भने भारतीय मूलका अमेरिकी मतदाताको मत खिच्ने प्रयासमा अघि नै देखिन्छिन्।

प्रकाशित मिति: : 2020-08-14 14:18:00

प्रतिकृया दिनुहोस्