१ भदौदेखि पाँचौं चरणको उद्धार उडान, नेवानिलाई १५ दिनसम्म १७ उडानकाे अनुमति

सरकारले विदेशमा अलपत्र परेका र रोजगारी गुमाएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गराउन पाँचौं चरणको उद्धार उडान १ भदा‍ैदेखि गराउने भएको छ। यस्तो उडानका लागि नेपाल वायुसेवा निगम (नेवानि) ले १ भदौदेखि १५ दिनका लागि १७ वटा उडान अनुमति पाएको छ।

१ भदौदेखि नियमित उडान गर्ने भनिएपनि कोरोनाभाइसर (कोभिड–१९)को संक्रमण बढ्दै गएका कारण सरकारले १६ भदौदेखि मात्रै नियमित उडान खुला गर्ने निर्णय गरेको छ । सो अवधिसम्म सरकारले निगमलाई ३ र १४ भदौमा दैनिक २ उडान र सो बाहेकका अरु दिन दैनिक १ वटा उडानको अनुमति दिएको वायुसेवा निगमले जानकारी दिएको छ।

सरकारले स्वीकृत गरे अनुसार निगमले ३० साउनमा १ भदौदेखिको उद्धार उडान तालिका सार्वजनिक गरेको छ।

यस्तो तालिका अनुसार निगमले एकैदिन दुईवटा उडान हुनेबाहेक हरेक दिने काठमाडौंबाट अघिल्लो दिन जाने र भोलिपल्ट फर्कने तालिका सार्वजनिक गरेको छ।

निगमले गर्ने उद्धार उडानमा १ भदौदेखि १५ गतेसम्ममा यूएईको दुबई, कतारको दोहा, मलेसियाको क्वालालम्पुर, साउदी अरबको दमाम, कुवेत, साउदीकै जेद्दा, रियाद र जापानको नारिता उडान गर्ने भएको छ।

सरकारले यस अघि २६ साउनमा गरेकाे निर्णय अनुसार १ भदौदेखि तय भएको नियमित उडान १५ दिन पछिलाई सारेको छ । सो अवधिसम्म दैनिक ५ सय जनासम्मको मात्रै उद्धार उडान गर्ने भएको निर्णय गरेकाे छ।

सरकारले ३२ असारदेखि विदेशमा अप्ठ्यारोमा परेका वा रोजगारीका सिलसिलामा विदेश पुगेर अलपत्र परेका नेपाली नागरिकको उद्धार उडान शुरु गरेको थियो। यस्तो उडानबाट ३० साउनसम्म ५८ देशबाट ५० हजार २६२ जनाको उद्धार उडान भएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जानकारी दिएको छ।

सरकारले अब भने दैनिक ५ सय जनासम्म मात्रै उद्धार उडान गर्ने निर्णय गरेको अर्थ तथा सूचना तथा सञ्चार मन्त्री डा युवराज खतिवडाले २७ साउनमा सार्वजनिक गरेको मन्त्रिपरिषदको निर्णयमा उल्लेख छ।

नेपाल सरकारको उक्त निर्णय अनुसार, अनुमति भएका व्यक्तिलाई नेपाली कूटनीतिक नियोगको सिफारिशमा ३ सय जना र वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च व्यहोर्ने गरी २ सय जना गरी कुल ५ सय जना नबढ्ने गरी उद्धार उडान गर्ने भएको छ।

प्रकाशित मिति: : 2020-08-14 17:12:05

प्रतिकृया दिनुहोस्