राष्ट्रपति ट्रम्पलाई कपाल नुहाउँन पानी अपुग भएपछि नियम परिवर्तन गर्ने तयारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नुहाउँने बेला कपाल धुन समस्या परेपछि एउटा नियम नै परिवर्तन गर्न प्रस्तावअघि सारिएको छ।

सरकारले भर्खरै ‘सावर वाटर प्रेसर’ नियम परिवर्तन गर्ने योजना ल्याएको हो। यसका लागि उर्जा विभागले प्रस्तावअघि सारेको छ। अमेरिकामा कपाल धुन ९ दशमलव ५ लिटर पानी मात्र प्रयोग गर्न पाउने नियम छ।

ट्रम्पले केही दिनअघि भनेका थिए, ‘टाउको नुहाउँदा पानीको प्रयोग गर्ने सीमालाई बढाउने आवश्यकता छ। जब म कपाल धुन जान्छु, पानी राम्रोसँग आउँदैन।’ अमेरिकामा सन् १९९२ मा एउटा कानुन पास भएको थियो, जसअनुसार कपाल नुहाउँदा प्रति मिनेट २ दशमलव ५ ग्यालिन (९ दशमलव ५ लिटर) भन्दा बढी पानी प्रयोग गर्न पाइने छैन।

ट्रम्पको भनाईमा कपाल नुहाउँदा उनलाई पानी पुग्दैन। हात धुन पनि समस्या भइरहेको छ। कम पानीका कारण समस्या भएको भन्दै उनले भनेका थिए, ‘अरुको विषयमा मलाई त्यति जानकारी छैन। तर, मलाई पानी पुग्दैन।’ राष्ट्रपति ट्रम्पले पानी प्रयोगको विषयमा गर्न लागिएको परिवर्तनलाई लिएर उपभोक्ता अधिकार संगठनले विरोध जनाएका छन्। उनीहरूले परिवर्तित नियमले अधिक पानी प्रयोग हुने र यसले समस्या निम्त्याउने चेतावनी दिएका छन्।

उर्जा संरक्षण समूहका कार्यकारी निर्देशक एण्ड्रयु डेलास्कीले चेतावनी दिएका छन्, ‘सरकारी प्रस्ताव मुर्खतापूर्ण छ।’ केही अधिकारकर्मीले वाइट हाउसले पानीसम्बन्धि अधिकार परिवर्तन गर्ने योजनाविरूद्ध अदालतमा मुद्धा पर्ने धम्की दिएका छन्।

केही समयअघि राष्ट्रपति ट्रम्पले वाइट हाउसमा व्यापारीहरूसँग भएको बैठकमा ट्वालेटमा १०–१२ पल्ट ‘फ्लस’ गर्ने बानीले समस्या निम्त्याएको औंल्याएका थिए। उनले यसलाई रोक्न आग्रह पनि गरेका थिए। ट्रम्पको यो भनाई र टाउको नुहाउन परिवर्तन गर्न लागिएको प्रस्ताव एकअर्कासँग परस्पर विरोधी देखिएको छ।

प्रकाशित मिति: : 2020-08-16 07:30:00

प्रतिकृया दिनुहोस्