सबै अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर-नेपाली कांग्रेस

प्रदेश १ का सबै निजी तथा सरकारी अस्पतालमा कोरोना सङ्क्रमितको उपचार हुने व्यवस्था मिलाउन नेपाली काङ्ग्रेस प्रदेश १ संसदीय दलले माग गरेको छ। आइतबार विराटनगर पत्रकार सम्मेलन गर्दै काङ्ग्रेस संसदीय दलले यस्तो माग गरेको हो।

सरकारी नीतिका कारण सङ्क्रमितले अस्पतालै नपुगी ज्यान गुमाउनुपर्ने बाध्यता रहेकाले भरपर्दो उपचार व्यवस्था मिलाउन प्रदेश सरकारको ध्यानाकर्षण पनि गराएको छ। संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले सबै अस्पतालहरूमा सङ्क्रमितको उपचार मिलाउनुपर्ने माग गरे। सरकारले प्रदेशका छ ठूला अस्पतालहरूमा कोरोना सङ्क्रमितको उपचारको व्यवस्था मिलाएको छ । तर धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हकमा सरकारले १५० बेडको झुठो प्रचार गरी ३० बेड मात्र सञ्चालन गरेको संसदीय दलका प्रमुख सचेतक कार्कीले बताए।

प्रदेश सरकारको व्यवस्थापनमा रहेको मेची अस्पताल र कोभिड–१९ उपचार केन्द्र पनि सङ्क्रमितहरूले भरिएको नेपाली काङ्ग्रेस संसदीय दलले जनाएको छ। दलका अनुसार हाल यी दुई अस्पतालहरूमा आइसियू एक सय ४०, एचडियू ८४, भेन्टिलेटर दस, पिआइसियू छ र एनआइसियू तीन र अक्सिजनसहितको तीन सय ९७ बेडको व्यवस्था छ। तर सरकारले भनेअनुसारको शैया, भेन्टिलेटर नभएको दलको दाबी छ।

सरकारले समयमै आफ्नो दायित्व बोध नगर्दा प्रदेशमा कोरोना सङ्क्रमणले भयावह रूप लिएको दलका प्रमुख सचेतक कार्कीले बताए । कोरोना महामारीका बेला सरकार निष्क्रिय भएको भन्दै उनले सरकार खोपीमा बसेर कुर्सी जोगाउने कार्यमा व्यस्त देखिएको बताएका छन्।

प्रकाशित मिति: : 2021-05-09 18:31:00

प्रतिकृया दिनुहोस्