प्रधानमन्त्री ओलीले भनेः ठाकुरलाई प्रधानमन्त्रीको अफर गरेको छैन, गर्दिनँ पनि

प्रधानमन्त्री केपी शर्मा ओलीले  जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरलाई प्रधानमन्त्री पदको अफर नगरेको बताएका छन्।

प्राइम टाईम्स टेलिभिजनमा ऋषि धमलासँग जनता जान्न चाहान्छनमा कुराकानी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मैले उहाँलाई त्यस्तो अफर गरेको छैन र गर्दिनँ पनि । त्यो जनादेश विपरित हुन्छ।’

जनता समाजवादीसँग संवाद जारी रहेको भन्दै उनले कुनै गलत सहमति भने नगरिएको बताए।

आफूलाई माओवादी केन्द्रले २०७५ सालमा दिएको समर्थन कायम रहेको भन्दै तत्काल विश्वासको मत लिन आवश्यक नरहेको बताएका छन् । उनले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने आशा पनि व्यक्त गरे ।

‘मलाई २०७४ सालको फागुन २७ गते माओवादी केन्द्रले दिएको समर्थन वापस भएको छैन । यो माओवादी केन्द्रले थाहा नपाएको कुरा पनि होइन । मैले फिर्ता गर्नुस वा नगर्नुस केही भनेको छैन । त्यसैले संयुक्त सरकारको हैसियत कायम छ,प्रधानमन्त्री ओलीले भने। ’

माओवादी केन्द्रले आफ्ना मन्त्री फिर्ता बोलाएको विषयमा भने उनले आश्चर्य प्रकट गरे। ओलीले भने, ‘संविधानको धारा ७६ को उपधारा २ अनुसार समर्थनप्राप्त सरकार चलेको छ । त्यसैले न राजीनामा दिन आवश्यक छ, न विश्वासको मत आवश्यक छ । मलाई जरुरी नै छैन।’

प्रकाशित मिति: : 2021-03-14 22:23:00

प्रतिकृया दिनुहोस्