तपाईँको स्वास्थ्यको गोपनीयता

कोरोना महामारीको संक्रमणमा परेका अमेरिकाका नेपाली व्यक्ति र परिवारको अर्को गुनासो बाहिरिएको छ- हाम्रो रोग निको भए पनि समाजले हामीलाई अझै स्वीकार गरेको छैन, हामीसित मानिसहरु अझै ससंकित छन्, उनीहरु गएको ठाउमा हामीलाई नआए हुन्थ्यो जस्तो गर्छन

यस बारेमा न्यूयोर्कबाट प्रकाशित हुने अनलाइन पत्रिका खसोखासले गत साता एउटा लामो समाचार सम्प्रेषित गरेको थियो। कोरोना पोजेटिभ भएको बेला आफूलाई सार्वजनिक गर्नेले त्यो बेला यस्तो होला भन्ने थाहा पाएको भए शायद आफ्नो स्वास्थ अवस्था अर्थात् 'हेल्थ प्राइभेसी' सार्वजनिक गर्दैनथे होला। ऊ बेला 'कोरोनालाई जितेको' भनेर मिडियामा उनीहरूले नै अन्तर्वार्ता दिएका थिए।

हालै चितवनको एउटा अस्पताल प्रमुख डाक्टर विश्वबन्धु बगाले कोभिड १९ बिरामीको सेवा गर्दा गर्दै संक्रमित भए, उनको श्रीमतीलाई पनि भाइरस सर्‍यो। उनले आफू संक्रमित भएको  सबैलाई जानकारी गराएर घरमै बसे।  तर, स्थानीय वडा अध्यक्षसहितको जुलुसले उनको घरमा कोरोना संक्रमित' को घर, सावधान’ भन्ने आशयको ब्यानर टाङ्ग्न गए र डाक्टरी पेशाको अवमूल्यन र डाक्टरको अपमान गरे।

नेपाली समाज 'प्राइभेसी' प्रति त्यति संबेदनशील छैन।  प्राइभेसी अर्थात् आफ्नो व्यक्तिगत मामिला आफैंमा राख्न पाउने कानुनि अधिकार। यो अधिकार हरेक प्रजातान्त्रिक देशमा व्यक्तिलाई  संविधान र कानुनले प्रत्याभूत गरेको हुन्छ। कानुनले हरेक नागरिकलाई अरूको जिज्ञासाबाट निरपेक्ष बस्न पाउने अधिकार दिएको छ, ताकि हरेक मान्छे स्वतन्त्र जीवन जिउन पाउन्।  निजी मामिला, निजी सूचना वा निजी जीवनचर्या अरूले थाहा पाए अनावश्यक रुपमा शोषण गर्ने वा तनाब दिने सम्भावना हुन्छ र स्वतन्त्र जीवन बाँच्न पाइँदैन।

तपाईँ बस्ने घर, सम्पत्ति, आम्दानी, खर्च, परिवार अनि निजी जीवनशैली, प्रेम सम्बन्ध, स्वास्थ्य अवस्था गोप्य राख्न पाइन्छ र कसैले हनन गर्न पाउँदैनन्।  सरकारले पनि केही विशेष परिस्थितिमाबाहेक हस्तक्षेप गर्न पाउँदैन। नेता र सार्वजनिक पदमा बस्ने मानिसको भने आफ्ना आयश्रोत बताउनुपर्ने हुन्छ, बिरामी भए जनतालाई सामान्य जानकारी दिने चलन छ।

अन्जानमा आफ्नो स्वास्थ्यको बारेमा आवेशमा आएर क्षणिक सहानुभूति लिन केही मानिसहरू सोसल मिडियामा बिरामी हुँदाको फोटो पोस्ट गर्ने वा नेताले जस्तो पत्र पत्रिकालाई अन्तर्वार्तासमेत दिन्छन्। जुन पछि आफैंलाई घातक हुन्छ। एक चोटी बिरामी भएको मानिसलाई हाम्रो समाजले सधैको बिरामी देख्छ। सधैंको प्रश्न, सधैको सहानुभूति! मानिसहरु हैरान नै पार्छन्। डिप्रेशन वा मानसिक रोगलाई जितेको महिला वा पुरूष,  ब्रेस्ट क्यान्सर जितेकी महिला होस् कि मुटु शल्यक्रिया गरेर ठिक भएकालाई, ठिक भएको दशौं वर्षपछि पनि मानिसहरू अझै खासखास खुसखुस गर्छन्, रोगी सम्झिन्छन्। सार्वजनिक ठाउँमा नै  प्वाक्क सोधिदिन्छन्- ‘तपाईको त्यो रोग कस्तो छ आजभोलि?'

कुनै पनि मानिसको हेल्थ प्राइभेसी बाहिर आयो भने धेरै झन्झट व्यहोर्नुपर्छ। मानसिक वा अरू रोगीले आफ्नै परिवारबाट पनि अपहेलना र तिरस्कार भोग्नुपर्छ भने आफ्नो स्कुल, काम, अफिस वा समाजले पनि विभिन्न तरिकाले  तिरस्कार, अपहेलना र डिसक्रिमिनेशन (विभेद) गर्न सक्छ।

हाम्रो समाजमा त स्वास्थ्यको कारण वा बंशागुगत स्वास्थ्यको सूचना लिक भए केटा केटीको बिहे नै रोकिन पनि सक्छ। तपाईँको रोगको बारेमा रोजगारदाता र बिमा कम्पनीलाई त कुनै हालतमा सूचना चुहाउनुहुँदैन।  फेसबुक मार्फत तपाईँ गम्भीर बिरामी भएको कुरा कामको म्यानेजर वा रोजगारदाताले थाहा पाए भने अर्कै कारण देखाएर तपाईँलाई सेवा मुक्त गर्न सक्छन्। प्रेमी प्रेमिकाको सम्बन्ध टुट्न सक्छ।  

सजग बनौं, स्वास्थ्यको गोपनियता सधै सुरक्षित राखौं!

(चर्चित फोटोग्राफर विमल नेपाल हाल बोस्टनस्थित हार्वर्ड मेडिकल स्कुलको एक हस्पिटलमा काम गर्छन्। नेपालमा हुँदा उनी पत्रकार थिए। )

प्रकाशित मिति: : 2020-08-16 08:31:31

प्रतिकृया दिनुहोस्