सिपिएलमा सन्दीप लामिछाने सम्मिलित जमैका तलवाजको विजयी सुरूवात

क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलवाजले विजयी सुरूवात गरेको छ। मंगलबार राति आफ्नो पहिलो खेलमा सेन्ट लुसिया जुक्सलाई ५ विकेटले हराउँदै जमैकाले सुखद सुरूवात गरेको हो।

पहिले ब्याटिङ गर्दै सेन्ट लुसियाले दिएको १ सय ५९ रनको लक्ष्य जमैकामा मात्र ५ विकेट गुमाएर ७ बल बाँकी नै पुरा पर्‍यो।

जमैकाको जितमा आसिफ अलिले सर्वाधिक ४७ रन बनाउँदा  ग्लेन फिलिप्सले ४४ रन जोडे। कप्तान रोमवान पाउलले २६ तथा कार्लोस ब्याथह्वाइटले १८ रन जोडेका थिए।

आन्द्रे रसेलले १६ रन बनाएका थिए।

यसअघि ब्रायन लारा स्टेडियममा टस हारेर ब्याटिङ गरेको जुक्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५८ रन बनायो । जुक्सका लागि रोस्टन चेशले ४२ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ५२ रनको योगदान दिए ।

यस्तो रह्यो सन्दीपको चार ओभर

सन्दीपलाई जमैकाले नवौं ओभरमा बलिङमा ल्याएको थियो । सन्दीपले नवौं ओभरको पहिलो बलमा नाजिबउल्लाह जद्रानलाई एक रन दिए । सन्दीपले दोस्रो र तेस्रो बल लगातार रोस्टन चेशलाई डट राखेका थिए । चौथो बलमा एक रन खर्चिए । पाँचौ बलमा भने सन्दीपलाई जद्रानले छक्का प्रहार गरेका थिए ।

११ औं ओभरको पहिलो बलमा सन्दीपले जद्रानलाई २ रन दिएका थिए । फिल्डिङमा तालमेल नमिल्दा दुइ रन जोडेको थियो । दोस्रो, तेस्रो र चौथो बल सन्दीपले लगातार डट राख्दै जद्रानमाथि दबाब बढाए । पाँचौ बलमा एक रन दिए । अन्तिम बलमा चेश ठूलो सट खेल्न प्रयास गरेपनि असफल हुँदै डट खाएका थिए ।

१३ औं ओभरको पहिलो बलमा जद्रानलाई एक रन दिए । दोस्रो बलमा भने सन्दीपलाई चेशले चौका प्रहार गरे । तेस्रो बलमा ठूलो सट खेलेका चेश रन जोड्न असफल भएका थिए । स्टम्पिङको अपिल गरेपनि असफल भएका थिए । चौथो बलमा सन्दीपले एलबिडब्लू आउटको अपिल गरेपनि एम्पायरले कुनै प्रतिक्रिया दिएनन् । पाँचौ बलमा दुई र अन्तिम बलमा एक रन खर्चिए ।

१५ औं ओभरको पहिलो बलमा चेशलाई एक रन दिए । दोस्रो बलमा ठूलो सट खेलेका जद्रानलाई रोभमान पोवेलबाट २५ रनमा क्याच आउट गराए । उक्त क्याच लिनेक्रममा विरसामी पेरुमल र पोवेल एक आपसमा लड्न पुगेका थिए ।

उनले २१ बलमा १ चौका र १ छक्का प्रहार गरे । तेस्रो बलमा चेशलाई एकर चौथो बल डट राखे । पाँचौ बल डट राखेका सन्दीपले छैटौं बल एक वाईड र एक रन खर्चे ।

 

प्रकाशित मिति: : 2020-08-19 23:20:47

प्रतिकृया दिनुहोस्