अर्बपति व्यवसायी विनोद चौधरीको नबिल ब्यांकमा ‘छद्म लगानी’बारे राष्ट्र ब्यांकले थाल्यो साेधखोज थप सामग्री

हिमाल खबर

काठमाडाैं

नबिल ब्यांकमा रहेको बांग्लादेशी कम्पनी एनबी इन्टरनेशनलको ‘विवादास्पद लगानी’ विरुद्ध नेपाल राष्ट्र ब्यांकले छानबिन थालेको छ ।

अर्बपति व्यवसायी विनोद चौधरी र उनको परिवारको मुख्य शेयर हिस्सा रहेको यो ब्यांकमा रहेको एनबी इन्टरनेशनलका अन्तिम हिताधिकारीबारे प्रश्न उठाउँदै केन्द्रीय ब्यांकले नबिल ब्यांकलाई पत्र पठाएको छ । केही साताअघि पत्र पठाए पनि नबिलले राष्ट्र ब्यांकले सोधेको प्रश्नको जवाफ नदिएको केन्द्रीय ब्यांकका एक उच्च अधिकारीले बताए । 

“मुख्य रुपमा दुई वटा कुरा सोधेका छौं, पहिलो, एनबी इन्टरनेशनलका अन्तिम हिताधिकारीको विवरण र दोस्रो, एनबी इन्टरनेशनलमार्फत चौधरी परिवारले विगतमा पाएको लाभांश कति नेपाल भित्र्याएको छ भनी विवरण मागेका छौं, तर जवाफ पाएका छैनौं,” ती अधिकारीले भने ।

नबिल ब्यांकका कर्पोरेट कम्युनिकेसन प्रमुख कृष्ण सुवेदीले भने राष्ट्र ब्यांकको सोधखोजका विषयमा आफूहरु जानकार नरहेको र उच्च व्यवस्थापन र सञ्चालक समिति जानकार रहेको हुनसक्ने बताए । 

नेपालमा सर्वाधिक नाफा दिनेमध्येको एक ब्यांक, नबिलमा बांग्लादेशमा दर्ता भएको एनबी इन्टरनेशनल नामक कम्पनीको ५० प्रतिशत शेयर स्वामित्व छ । विनोद चौधरीले एनबी इन्टरनेशनल आफ्नो स्वामित्वको भएको कुरा आत्मकथामार्फत सार्वजनिक गरेका थिए ।

नेपालय प्रकाशनले प्रकाशित गरेको आत्मकथामा चौधरीले नेपाल अरब ब्यांकको शेयर किन्न खोज्दा कानुनले छेकेपछि बांग्लादेशमा कम्पनी खोलेर त्यसमार्फत अप्रत्यक्ष रुपमा लगानी गरेको स्वीकारेका छन् । 
 

प्रकाशित मिति: : 2020-08-20 07:35:16

प्रतिकृया दिनुहोस्