होटल एशियाटिक आइशोलेशनका रुपमा

रासस

विराटनगर

नेपालमा पहिलो पटक निजीस्तरबाट विराटनगरस्थित होटल एशियाटिकमा आइशोलेसन सञ्चालनमा ल्याइएको छ । बन्दाबन्दी, निषेधाज्ञा जस्ता कार्यले बन्द रहेका होटललाई यसबाट केही हदसम्म मद्दत पुग्ने देखिन्छ ।

प्रदेश सरकारको पहिलेदेखि नै स्थानीय होटललाई आइशोलेशन सञ्चालन गर्ने सोचलाई होटल एशियाटिकले पूरा गरेको छ । सो होटलमा हाल ६५ शय्या तयार गरिएको छ । अत्यन्त सुविधासम्पन्न सो होटल शनिबारदेखि आइशोलेशनका रुपमा चलाइएको  होटल सञ्चालक पुण्य भट्टराईले जानकारी दिए ।
 
 वातावरणअनुकूलित सो आइसोलेशनमा नेपाल विद्युत् प्राधिकरण दमकका छ, राष्ट्रिय वाणिज्य बैंक विराटनगरका एक र नेपाल राष्ट्र बैंक विराटनगरका एक जना बसिरहेका छन् । अहिले सुनसरीको इटहरीबाट दुई जना आउन लागेको जनाइएको छ ।

तातो र चिसो दुवै पानी पाइने सो आइसोलेशनको एक कोठाको दैनिक रु एक हजार १०० शुल्क कायम गरिएको  छ ।  मरीचयुक्त कालो चिया निःशुल्क उपलब्ध हुने छ ।  

खानामा बिहानको खाजा, दिउँसोको खाना, रातिको खाना तथा  बेसार र  दूधसहितको सुप दिइने छ ।  दुई किसिमको होटलको मेनुमा रु एक हजारदेखि रु एक हजार ५०० शुल्क कायम गरिएको सञ्चालक भट्टराईले जानकारी दिए ।
   
उनका अनुसार होटलमा सङ्क्रमण फैलिन नदिन सधैँ सेनिटाइज गरिन्छ । होटेलले आफ्ना कर्मचारीको कोरोना बीमा गरेको र जोखिम नियन्त्रण एवं निर्मूल गर्न सबै किसिमको प्रविधि प्रयोग गरेको छ ।

उनले होटलमा बस्दा कुनै बिरामीको अवस्था गम्भीर भएमा आइसियु, भेन्टिलेटरसहितको अस्पतालमा पु¥याउन विराटनगर महानगरपालिकासँगको सहकार्यमा एम्बुलेन्सको व्यवस्था गरिएको  जानकारी पनि दिए ।

 महानगर प्रमुख पराजुलीको पहलमा शुरु भएको सो आइशोलेशन विराटनगर विमानस्थल जाने बाटोमा पर्छ । महानगरपलिकाले यसअघि आफ्नो खर्चमा मरवाडी सेवा सदनमा ४० र बैजनाथपुरमा २० शय्याको आइशोलेशन तयार गरी बिरामीलाई सेवा प्रदान गर्दै आएको प्रमुख पराजुलीका प्रेस सल्लाहकार कौशल निरौलाले जानकारी दिए  l

प्रकाशित मिति: : 2020-08-23 17:06:45

प्रतिकृया दिनुहोस्