बजारमा खुलेआम बिक्री भए गुणस्तरहीन सेनिटाइजर, कुनै पनि विदेशी ब्रान्ड दर्ता भएनन्

मुलुकमा कोरोना संकटको मौका छोपेर बजारमा गुणस्तरहीन सेनिटाइजर आउनथालेका छन्।

मानव स्वास्थ्यमा असर गर्ने त्यस्ता सेनिटाइजर कतिपय आयातित छन् भने कति स्वदेशी उत्पादन नै छन्। सरकारी निकायबाट कडाइका साथ परीक्षण र अनुगमन नहुँदा मापदण्डविपरीतका ‘ह्यान्ड सेनिटाइजर बजारमा बिक्रीवितरणमा प्रश्रय पाएका हुन्।

औषधिजन्य उत्पादनको दर्ता र अनुगमन गर्ने निकाय औषधि व्यवस्था विभागले बजार अनुगमन र परीक्षण गर्दा मापदण्ड नपुगेका सेनिटाइजर भेट्टिएको जनाएको छ। विभागका महानिर्देशक नारायण प्रसाद ढकालले बजारमा रहेका सबै सेनिटाइजर राम्रा छन् भन्न नसकिने बताए।

‘हामीले स्याम्पल (नमूना) परीक्षण गर्दा केही सेनिटाइजर मापदण्डमा असफल भएका छन्’, ढकालले नेपालखबरसँग भने, ‘त्यसैले बजारमा पाइने सबै सेनिटाइजर ठीक छन् भन्न सकिँदैन।’

गुणस्तरहीन सेनिटाइजरमध्ये अधिकांश विभागमा दर्ता नभएको तथा विभागमा समेत दर्ता नगरी अनुमतिविनै उत्पादन भइरहेको पाइएको उनले बताए।

उनका अनुसार कतिपय विदेशबाट आयात गरेका पनि गुणस्तरहीन भेटिएका छन्। दर्ता भएर अनुमति दिएका अधिकांश सेनिटाइजर भने गुणस्तरीय भएको ढकालले दाबी गरे।

कोरोना भाइरस संक्रमणले सेनिटाइजरको खपत ह्वात्तै बढेपछि यसको सस्तो उत्पादनमा होडबाजी चलेको छ। यसको उत्पादनको मापदण्ड पूरा नगरीकन मिथानोल र अन्य केमिकल मिसाएको पाइएको छ। मिथानोलले मानव स्वास्थ्यमा असर गर्छ।

बजारमा प्रशस्त मात्रमा गुणस्तरहीन सेनिटाइजर भेटिएको औषधि उत्पादनक संघका पूर्वअध्यक्ष दिपक प्रसाद दाहालले पनि बताए। नेपालमा सेनिटाइजरको कच्चा पदार्थका रुपमा प्रयोग हुने अल्कोहल औषधि व्यवस्था विभागले चिठी लेखेपछि अल्कोहल उद्योगले दिन्छन्।

तर बजारमा भने कतिपय सेनिटाइजर उद्योगले खान अयोग्य गुणस्तरहीन ‘डिम्याचुअर्ड अल्कोहल’ प्रयोग गरिरहेको दाहालको भनाइ छ। जुन उत्पादन ३०÷४० रुपैयाँ लिटरमा उपलब्ध छ। यस्तो कमसल कच्चा पदार्थको प्रयोग गरेर सेनिटाइजर उत्पादन गरिरहेको उनले बताए।

प्रकाशित मिति: : 2020-08-23 17:32:24

प्रतिकृया दिनुहोस्