कसले जित्ला युराेपकाे प्रतिष्ठित क्लब प्रतियाेगिता?

दीप सुवेदी

काठमाडाैं

युरोपेली क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग (युइएफए) २०१९–२० सिजनको फाइनल खेल आइतबार पाेर्चुगलकाे लिस्बन शहरमा हुँदैछ।

नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुने फाइनलमा जर्मनीकाे बलियाे क्लब वायर्न म्युनिख र फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी)बीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। 

वायर्नले फ्रेन्च क्लब लियोनलाई तथा पीएसजीले जर्मन क्लब आरबी लेपजिकलाई समान ३–० ले हराउँदै फाइनलकाे यात्रा तय गरेका हुन्। 

समूह चरणमा वायर्नले टोटेनहाममविरुद्ध ७–२, ओलम्पियाकोसविरुद्ध ५–२ र रेडस्टार बेलग्रेडविरुद्ध ६–० गाेल अन्तरकाे जित निकालेकाे थियाे।

यता, प्रि–क्वाटरफाइनलमा चेल्सीलाई ७–१ काे फराकिलाे अन्तरले हराएकाे वार्यलले क्वाटरफाइनलमा स्पेनिस जाइन्ट बार्सिलोनालाई ८–२ गाेलकाे लज्जास्पद अन्तरले हराएकाे थियाे। 

यस्तै पीएसजीले समूह चरणमा स्पेनकाे बलियाे क्लब रियल मड्रिडविरुद्ध ५–२, गालाटासारेविरुद्ध ६–१ र  क्लब ब्रुगविरुद्ध ५–१ काे जित निकालेकाे थियाे। प्रि–क्वाटरफाइनलमा बोरुसिया डर्टमन्डविरुद्ध ३–२ काे जित निकालेकाे पीएसजीले क्वाटरफाइनलमा एटलान्टालाई २–१ ले हराएकाे थियाे।

सेमिफाइनलमा भने उसले आरबी लेपजिकलाई ३–० ले हराउँदै फाइनल पुगेकाे हाे। 

फ्लिक भर्सेस टुचेल

च्याम्पियन्स लिगको फाइनलमा वायर्न र पीएसजी एक अर्काविरुद्ध उत्रिँदा यी दुवै टोलीको प्रशिक्षक भने जर्मनकै रहेका छन्। वायर्नका प्रशिक्षक हान्सी फ्लिक र पीएसजीका थोमस टुचेल दुवै जर्मन प्रशिक्षक हुन्।

टुचेल १४ मे २०१८ मा पीएसजीको प्रशिक्षक नियुक्त भएका थिए। यसअघि उनी दुई वर्ष जर्मन क्लब बोरुसिया डर्टमुन्डमा थिए। ४६ वर्षीय टुचेलको प्रशिक्षणमा पीएसजीले १ सय ३ खेल खेल्दा ८० जित, ११ बराबरी र १२ वटामा मात्र हारको सामना गर्नुपरेकाे छ। उनकाे नेतृत्वमा पीएसजीले यो सिजन चारवटा उपाधि जितिसकेको छ।

यता ५५ वर्षीय फ्लिकलाई वायर्नले गत वर्ष भित्र्याएको हो। क्लबले खराब प्रदर्शन गरेसँगै वायर्नले निको कोभाकलाई बर्खास्त गर्दै ३ नोभेम्वर २०१९ मा नियुक्त गरेको थियो। उनी त्यसअघि सहायक प्रशिक्षक थिए। सन् २०१४ मा जर्मनीले विश्वकप जित्दा फ्लिक टोलीको सहायक प्रशिक्षक थिए।

फ्लिकको प्रशिक्षणमा वायर्नले यो सिजन दुई उपाधि जितेको छ। वायर्न बुन्डेसलिगा च्याम्पियन र डिएफबी पोकल च्याम्पियन बनेको थियो। फ्लिकको प्रशिक्षणमा वायर्नले ३५ खेल खेल्दा ३२ मा जित, १ बराबरी र २ हारको नतिजा भाेग्नु परेकाे छ।

वायर्न र पीएसजीको च्याम्पियन्स लिग यात्रा

प्रतिस्पर्धा कम हुने र एकै टोलीले लगतार वर्चस्व जमाइरहने कारण जर्मनी र फ्रान्सको लिगलाई फार्मर्स लिगको संज्ञा दिने गरिन्छ। तर, यही राष्ट्रका क्लबले यसपालि स्पेन, इंग्ल्यान्ड र इटलीको क्लबलाई क्वाटरफाइनलभन्दा माथि उक्लिन दिएनन्।

स्थापनाको ५० औं वर्ष मनाउँदै गरेको फ्रेन्च क्लब पीएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाइनल पुगेको हाे। पहिलो पल्ट फाइनल पुगेको पीएसजी उपाधि जित्ने नयाँ टिम बन्ने लक्ष्यमा छ। युरोपियन प्रतियोगितामा फाइनल पुग्ने पीएसजी समग्रमा ४१ औं क्लब हो। यदि पीएसजीले वायर्नलाई पराजित गरेमा च्याम्पियन्स लिग जित्ने २३ औं क्लब हुनेछ र दोस्रो फ्रेन्च क्लब।

यता ५ पटकको च्याम्पियन वायर्न ११ औं पटक च्याम्पियन्स लिग फाइनल खेल्दै छ। वायर्न च्याम्पियन्स लिगको फाइनलमा ७ वर्षपछि पुगेको हाे। वायर्नले पछिल्लो पटक २०१३ मा जर्मनीकै बोरुसिया डर्टमण्डलाई पराजित गर्दै उपाधि जितेको थियो।

त्यसअघि २०१० र २०१२ मा भने वायर्न फाइनलमा पराजित भएको थियो। वायर्नलाई फाइनलमा हराउँदै लिभरपुलले समान ६ पटक उपाधि जित्ने अवसर पाएकाे थियाे। अहिलेसम्म स्पेनिस जायन्ट रियल मड्रिडले सर्वाधिक १३ पटक च्याम्पियन्स लिग जितेको छ।

 इटालियन क्लब एसी मिलानले भने ७ पटक जितेको छ। लिभरपुलले ६ तथा वायर्न र बार्सिलोनाले समान ५ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन्। पीएसजीलाई हराएमा वायर्न सर्वाधिक उपाधि जित्नेमा लिभरपुलसँगै तेस्रो स्थानमा रहनेछ।

अहिलेसम्म २२ क्लबले उपाधि जित्दा सन् १९९३ मा फ्रान्सको मार्सेले क्लबले पहिलाे पल्ट उपाधि जितेको थियो। पछिल्लो पटक फ्रान्सको मोनाको क्लब २००४ मा फाइनलमा पुगेकाे थियो तर पोर्चुगलको पोर्टोसँग पराजित भयो। पीएसजी च्याम्पियन्स लिग फाइनल खेल्ने १६ वर्षपछि पहिलो फ्रेन्च क्लब बन्दैछ।

उत्कृष्ठ खेलाडीले भरिएको टिम 

दुवै टोली च्याम्पियन्स लिग उपाधिसहित सुखद अन्त्य गर्ने दाउमा छन्। उत्कृष्ट खेलाडीले भरिएको दुई टोलीबीचको भिडन्त निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।

घरेलु लिगको उपाधि पनि जितेको र उत्कृष्ट प्रदर्शन गरिरहेको दुई क्लब उपाधि आफ्नो बनाउने हाेडमा छन्। वायर्नले जर्मन बुण्डेसलिगा र जर्मन कपको उपाधि जितिसकेको छ। अब च्याम्पियन्स लिग जित्दै दोस्रो पटक ‘ट्रेबल’ गर्ने याेजनामा छ। वायर्नले यसअघि २०१३ मा ‘ट्रेबल’ जितेको थियो। 

उता पीएसजी कोरोना महामारीका कारण गत मार्चमै फ्रेन्च लिग वानको च्याम्पियन घोषित भएको थियो। त्यसयता पीएसजीले फ्रेन्च कप र लिग कपको उपाधि जितिसकेको छ। च्याम्पियन्स लिग पनि जितेमा पीएसजी ‘ट्रेबल’ उपाधि जित्ने पहिलो फ्रेन्च क्लब हुनेछ।

पीएसजीले यो सिजन ४८ खेल खेल्दा ४० मा जित ४ मा बराबरी र ४ मा हारको नतिजा निकालेको छ। यसक्रममा १ सय ३६ गोल गर्दा ३४ गोल खाएको छ।

पीएसजीमा नेयमार, युवा स्टार केलियन एमबाप्पे जस्ता अट्याकिङ लाइनअप छ। एमबाप्पेले यो सिजन ३० गोल तथा नेयमारले १९ गोल गरेका छन्। उनीहरुलाई मिडमा एन्जल डि मारियाले साथ दिनेछन्। कप्तान थिएगो सिल्भाको नेतृत्वमा रहेको पीएसजीका लागि डिफेन्स लाइनमा प्रिसनल किम्बेम्पेको साथ रहनेछ। मिडफिल्डमा मार्किन्होम्स र आन्द्रे हरेराले  साथ दिनेछन्। सर्जी रिकोले भने पोष्टको जिम्मेवारी पाउने छन्। गोलकिपर केइलर नाभाले चोटका कारण सेमिफाइनलबाट बाहिर थिए। उनी फाइनल खेल्ने सम्भावना कम छ।

उता आफ्नो करियरकै उत्कृष्ट फर्ममा रहेका वायर्नमा गोलमेसिन रोवर्ट लेवान्डस्की पीएसजीका लागि चुनौति बन्न सक्छन्।यो सिजन लेवनडोस्कीले ५६ खेलमा ६१ गोल गरिसकेका छन्। उनले बुन्डेसलिगाअन्तर्गत ३१ खेलमा सबैभन्दा बढी ३४ गोल गरेका थिए। उनले च्याम्पियन्स लिगको ९ खेलमा १५ गोल गरिसकेका छन्। 

उत्कृष्ट फर्ममा रहेका पोल्याण्डका यी स्ट्राइकरसँग च्याम्पियन्स लिगको एउटै सिजन सर्वाधिक गोल गरेर नयाँ कीर्तिमान बनाउने मौका पनि छ। यसका लागि उनले फाइनलमा ३ गोल गर्नुपर्ने छ। 

च्याम्पियन्स लिगको एउटै सिजन सर्वाधिक गोल गर्ने कीर्तिमान पाेर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डोको नाममा छ। उनले २०१३–१४ मा सबैभन्दा बढी १७ गोल गरेका थिए।

यता सर्जी नाब्री र थोमस मुलर जस्ता खेलाडी उत्कृष्ट फर्ममा छन्। गोलकिपरमा मानुअल नोयरको प्रदर्शन उत्कृष्ट छ।

डिफेन्समा जेरोमी बोएटेङ, डेभिड अलावा, अल्फोल्स डेभिसकाे मजबुत लाइनअप छ। मिडफिल्डमा लियोन गोरेट्ज्का, थियागो अलकान्टरा, इभान पेरिसिक छन्।

वायर्न र पीएसजीबीचको हेड टु हेडमा भने पीएसजी अघि छ। अहिलेसम्म यी दुई टिमबीच ८ पटक खेल भएकोमा पीएसजीले ५ पटक जित हात पारेको छ। ३ पटक वायर्न विजयी भएको छ। 

यी दुई टोली पछिल्लोपटक २०१८ मा च्याम्पियन्स लिगमा भिडेका थिए। जसमा वायर्न ३–१ ले विजयी भएको थियो। त्यसअघि च्याम्पियन्स लिगको समूह चरणमा वायर्नले ३–१ ले जित्दा पीएसजीले पनि ३–० को जित निकालेको थियाे। तर प्रतियोगिताको इतिहास भने वायर्नको पक्षमा छ। 

उपाधिको बलियो दावेदार वायर्नले यो सिजन ५१ खेल खेल्दा ४२ जित, ४ बराबरी र ५ हारको नतिजा निकालेको छ। यसक्रममा वायर्नले घरेलु दुई प्रतियोगिता जित्दै एकमा उपविजेता बनेको थियाे। यसक्रममा वायर्नले १ सय ५८ गोल गर्दा ५० गोल खाएको छ।

जित्ने पीएसजीकाे दावी

पीएसजीका प्रशिक्षक टुचालले टिममा युवा खेलाडीको मिश्रण रहेको र उपाधि जित्ने दावी गरेका छन्। उनले टिममा रहेका अनुभवी खेलाडीहरु केइलर नाभास एन्जल डि मारिया र नेमारसँग पनि कुरा गरेको बताए। तीनै खेलाडीसँग यसअघि अन्य क्लबबाट च्याम्पियन्स लिग जितेकाे अनुभव छ। 

टुचाल पीएसजीले यस सिजन च्याम्पियन्स लिगमा ५ गोल मात्रै बेहोरेको भन्दै फ्रन्टलाइन जस्तै ब्याक लाइनले पनि राम्रो प्रदर्शन गरेको बताउँछन्। ‘टोलीको मनोबल उच्च छ। हामीसँग गेम प्लान छ र मलाई आशा छ त्यसलाई हामी लागु गर्न सक्छाैँ,’ टुचेलले समाचार एजेन्सीहरुलाई भनेका छन्। 

उनी वायर्नका खेलाडीले गरेको गल्तीको सदुपयोग गर्न सके पीएसजीले सहज जित हात पार्ने बताउँछन्। ‘जुन टोलीको पनि कमजोरी हुन्छ र त्यो कमजोरीको फाइदा हामीले उठाउनुपर्ने छ। गल्तीको फाइदा उठाए जित सम्भव छ,’ उनले भनेका छन्। 

उता फ्लिक पहिलो पटक युरोपेली प्रतियोगिताको फाइनलमा टोलीको नेतृत्व गर्दैछन्। तर फ्लिकले उत्कृष्ट फुटबलका लागि आफूहरु उत्कृष्ट खेल प्रदर्शन गर्न गइरहेको बताए। 

उनले पछिल्लो दशकमा दुई पटक फाइनल खेलेका कारण पनि वायर्नलाई अनुभवको आधारमा केही सहयोग पुग्ने बताए। ‘वायर्न आफैंमा ठूलो क्लब हो। वायर्नमा उत्कृष्ट स्तरका खेलाडी छन्। र ठूलो खेल खेलेको अनुभव छ,’ उनले भने। 

तर आफूभन्दा पीएसजीका प्रशिक्षक टुचाल उत्कृष्ट रहेकाे उनी बताउँछन। 

‘मेरो विचारमा विश्वको उत्कृष्ट मध्यको टोली हो पेरिस। पेरिसमा धेरै राम्रा खेलाडी छन्। उनीहरुको प्रशिक्षक उत्कृष्ट छन् र खेल्ने रणनीति पनि गज्जबको छ,’ उनले भने।

फ्लिक यसका बाबजुद आइतबार हुने फाइनलमा आफ्नो रणनीति परिवर्तन नगर्ने बताउँछन्। ‘हाम्रो खेल्ने शैली नै पोजिसन अनुसार माथि चढेर खेल्नु हो। हाम्रो मुख्य ध्यान बलमा रहँदा दबाब कायम गर्नेमा हुनेछ। हामीले लियोन र बार्सिलोनाको खेल फेरि हेर्यौं, हामीले विपक्षीलाई पास दिने अवसर नदिनु नै मुख्य योजना हो,’ उनले भने।

प्रकाशित मिति: : 2020-08-23 19:05:00

प्रतिकृया दिनुहोस्