कोरोनाले थलिएको ठमेल निषेधाज्ञाले झन सुनसान...

करीव चार महीनाको लकडाउनले केही चलबलाउन थालेको मुलुकको प्रमुख पर्यटकीय केन्द्र ठमेल जारी निधेषाज्ञाले ठप्प छ। सरकारले लकडाउन खुकुलो गरेसँगै यसअघि ठमेल क्षेत्रमा नगण्य चहलपहल भए पनि यो निषेधाज्ञाले पुरै सुनासान छ।

संसारभरि नै महामारीका कारण सबैभन्दा धेरै प्रभावित क्षेत्रमा पर्यटन उद्योग रहेको छ। जसको असर ठमेलमा देखिएको छ।

कुनै बेला मध्यरातसम्म चहलपहल हुने ठमेल अहिले चौबिसै घन्टा सुनसान बनेको छ। ठमेलका प्राय पसल, होटल र रेष्टुरेन्टहरु बन्द छन्। डिपार्टमेन्टल स्टोर तथा खाधान्न पसलसमेत यतिबेला बन्द छन्।

यसअघि पनि पर्यटक अभावले यहाँको व्यवसाय अन्य क्षेत्रको जस्तो सहजै खुल्न सकेको थिएन अब त थलै पर्‍यो।

त्यसो त लकडाउन सुरु हुनुअघि नै ठमेलको ब्यवसाय सुस्ताएको थियो। चीनको वुहानबाट कोरोना भाइरस संक्रमण फैलिएसँगै ठमेलमा सञ्चालित पसल र रेष्टुरेन्टहरु बन्द भए। खुलेकामा पनि कोरोना त्रासका कारण मानिसहरु गएनन्। अहिले लकडाउन खुकुलो भए पनि ठमेलमा चहलपहल

बढाउन पर्यटक आउने सम्भावना छैन।

त्यसैले पनि ठमेल पहिला झैं पूर्ण रुपमा सञ्चालनमा आइहाल्ने अवस्था पनि नरहेको स्थानीय व्यापारीहरु बताउँछन्।

अहिले ब्यवसायीहरु पलायन हुनेक्रम बढ्दो छ। ठमेल पुरानै अवस्थामा फर्कन धेरै समय लाग्ने र त्यतिञ्जेल ब्यवसाय नै बन्द गरेर अन्यत्र लाग्नुपर्ने अवस्थामा व्यापारीहरू छन्।

भाडा महंगो भएकोले लकडाउन खुकुलो भएर अन्य स्थानको व्यवसाय सुचारु भए पनि ठमेल क्षेत्र चलायमान हुने छाँटकाट छैन। त्यहाँको अधिकांश व्यवसाय विदेशी पर्यटकमा नै निर्भर छ। 

कतिपय व्यवसायी सटरको तालाचाबी बुझाउने क्रममा छन्। सटर खाली हुने क्रम सुरु भएको छ। 

ठमेल क्षेत्र कान्तिपथदेखि सोह्रखुट्टे, पकनाजोल, क्षेत्रपाटी, थःहिटी र ज्याठालगायतका स्थानसम्म फैलिएको छ। यस क्षेत्रमा १० हजार व्यवसायी छन्। त्यहाँ व्यवसाय गर्नेले १५ हजारदेखि २५ लाखसम्म मासिक भाडा तिर्छन्।

खर्बौंको लगानी रहेको ठमेल क्षेत्रमा सबैभन्दा धेरै पसलहरु नै छन्। त्यसपछि ट्राभल एजेन्सी, ट्रेकिङ्ग, रेष्टुरेन्ट, नाइट क्लब छन्। त्यस्तै, सामान्यदेखि पाँचतारेसम्मका होटलहरु पनि छन्। वायुसेवा, होटल क्षेत्र, यातायात र रेष्टुरेन्टजस्ता पर्यटनसँग जोडिएका क्षेत्रहरू शिथिल भएका छन्।

ठमेल चोक, सात घुम्ती, चाक्सिवारी, जेपी रोड, जेड स्ट्रीट, क्षेत्रपाटी, ज्याठा, कालधारा, भगवतिवहाल लगायत ठमेलका मुख्य स्थानहरु सुनसान छ।

युनिक एड्भेन्चरका अपेरशन चिफ कृष्ण बहादुर क्षेत्रीका अनुसार अक्टोवर महिनाको लागि बिदेशी पर्यटक घुम्न आउने इच्छा देखाएका थिए। तर जारी निषेधाज्ञाले रद्द गरेको उनले बताए।

सरकारले अगस्ट १७ देखि आन्तरिक र अन्तराष्ट्रियय हवाइ सेवा खुल्ने बताएपछि ठमेलका पर्यटन व्यवसायी केही आशावादी भए पनि पछिल्लो समय देशमा कोरोना संक्रमित ह्वात्तै बढेपछि अब पर्यटन क्षेत्र अनिश्चितता तिर धकेलिएको छ।

नेपालको मुख्य बिदेशी मुद्रा आम्दानी गर्ने पर्यटन क्षेत्र उकास्न सरकारले आर्थिक सहयोग प्याकेजको घोषणा गर्ने  र नयाँ नीति साथै दीर्घकालीन पर्यटन योजना ल्याउनुपर्ने यहाँका व्यवसायीहरू बताउँछन्। यस्तै अवस्था रहिरहे पर्यटन क्षेत्रमा लगानी गरेको अर्बौ लगानी डुब्ने र हजारौ पर्यटन मजदुर पलायन हुने जोखिम देखिन्छ।

हेर्नुहोस् केही तस्बिरहरू

प्रकाशित मिति: : 2020-08-23 23:03:17

प्रतिकृया दिनुहोस्