नेयमारले रुँदै भने– जित जस्तै हार पनि खेलको एक हिस्सा हाे, सक्दो प्रयास गर्‍याैं

जर्मन च्याम्पियन वायर्न म्युनिखले  छैटौं पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ। 

लिस्बनमा आइतबार भएको निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० ले पराजित गर्दै वायर्न उपाधि जित्न सफल भएको हो।

खेलको दोस्रो हाफमा पीएसजीकै पूर्व खेलाडी किंग्सले कोमानले गरेको गोल पीएसजीको हारको कारण बन्यो। 

पहिलो हाफमा आक्रामक प्रस्तुति दिएको पीएसजीले गोल गर्न भने चुकेको थियो। बराबरी गोलका लागि संघर्ष गरेको पीएसजी सफल नहुँदा उपाधि गुमाउन पुग्यो।

नेयमारले फ्रेन्च क्लबबाट उपाधि जित्न चाहेका थिए तर सोचे जस्तो भएन फाइनलको नतिजा। आइतबार रातिको महत्वपूर्ण खेलपछि नेयमारले आँसु थाम्न सकेनन्। 

खेलपछि वायर्नका खेलाडीहरु उत्साह र उत्वसमा थिए। नेयमारले भक्कानिएको मन थाम्न सकेनन्, आँसु रोक्न सकेनन्। मैदानबाट बाहिरिने क्रममा नेयमारले रोकेको पीडाको बाँध फुट्यो, देखिने गरी रोए। 

मैदान बाहिर नेयमार स्टूलमा बसेर रुँदै थिए। बग्दै गरेको आँसुलाई उनले लुकाउन प्रयास गरे पनि सकेनन्, मैदानको छेउमा बसेर रोए।

विश्व कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट उनी वालेन डी’ओर जित्ने लक्ष्यसहित कीर्तिमानी २ सय २० मिलियन पाउण्डमा पीएसजी गएका थिए। 

तर नेयमारले पछिल्ला तीन सिजन आफूमाथिको लगाईएको महङ्गो मुल्यलाई न्याय गर्न सकिरहेका थिएनन्। उनले यस सिजन १९ गोल गर्नुका साथै १२ गोलको अवसर सिर्जना गरेका थिए।  यसपटक पीएसजी युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको उपाधि नजिक पुगेको थियो।

च्याम्पियन्स लिगको फाइनलमा पीएसजीलाई पुर्याउन नेयमारले मुख्य भूमिका निर्वाह गरेका थिए। उनले अन्तिम १६ को दोस्रो लेगमा गोल गर्नुका साथै क्वार्टरफाईनल र सेमिफाइनलमा एटलान्टा र आरबी आईपेजिगबिरुद्ध जित निकाल्न मुख्य भूमिका निर्वाह गरेका थिए। विश्लेषकहरुले सामान्य भन्दा फरक र परिपक्क नेयमार मैदानमा देखिन थालेको बताइरहेका थिए।

तर उनले साेही लय देखाएपनि पीएसजीलाई हारबाट भने जाेगाउन सकेनन्। नतिजाले टुटेका नेयमारलाई आँसु पुच्छन वायर्नका डिफेन्डर डेविड अल्बाले काँध दिए। वायर्नका प्रशिक्षक हान्सी फ्लिकले पनि नेयमारको पीडामा सद्भाव दर्शाए।

खेलकाे केही दिन अगाडी उनले पीएसजीमा रहेर जितेर इतिहास लेख्ने लक्ष्य रहेकाे बताएका थिए। ‘च्याम्पियन्स लिग जित्नु पक्कैपनि विशेष हो। यो मलाई थाहा छ। तर पीएसजीमा रहेर जितेर इतिहास लेख्नु छ। र म यहाँ यही गर्न आएको हुँ,’ नेयमारले भनेका थिए।

पीएसज उत्कृष्ट फर्ममा रहेको भन्दै उनले आफ्नाे टिम वार्यन म्युनिखकाे सामना गर्न तयार रहेकाे समेत बताएका थिए, तर त्याे भनएन। 

नेयमारले पछि ट्वीट गरेर जित जस्तै हार पनि खेलको एक हिस्सा भएको र आफूहरुले सक्दो प्रयास गरेको उल्लेख गरे। उनले भने, ‘हामी अन्तिमसँग लडिरह्यौँ। तपाईँहरु सबैलाई साथ र सहयोगका लागि धन्यबाद।’

प्रकाशित मिति: : 2020-08-24 06:48:08

प्रतिकृया दिनुहोस्